सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा १४५औं विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय बाँकेले एक कार्यक्रमको आयोजना गरी विश्व हुलाक दिवस मनाइएको हो ।
विश्व हुलाक दिवस अक्टोबर ९ तारिखमा पर्ने भएपनि यसपाली त्यस दिन नेपालमा बडा दशैको सार्वजनिक विदा हुने भएकोले एक साता अघि नै दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले हुलाक सेवालाई प्रभावकारी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिँदै घरमा सञ्चालन भइरहेका अतिरिक्त हुलाक कार्यालयहरुको व्यवस्थापनका लागि पहल गर्ने बताए । उनले छिट्टै बाँकेका आठवटै पालिका र वडाहरुसंग समन्वय गरेर पालिका र वडामै कार्यालय स्थापना गर्न पहल गर्ने बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले हुलाक विगतमा सर्वसाधारणको अत्यन्त विश्वसनीय र भरपर्दो सेवा रहेको स्मरण गर्दै यसलाई दिगो राख्न समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यालय प्रमुख हुलाक अधिकृत गोविन्दप्रसाद पाण्डेले हुलाक सेवालाई प्रभावकारी बनाउन आफूहरु दत्तचित्त भएर लागेको बताउँदै अहिले कार्यालयका केही दायित्व पनि बढेकाले प्रभावकारी कार्य सम्पादनका लागि कुनै कसर बाँकि नराख्ने बताए ।
उनले हुलाक बचत सेवामा बचत गर्नेहरुको संख्या दिन प्रति दिन बढ्दै गइरहेको र आफू आईसकेपछि जिल्लाका सबै इलाका र अतिरिक्त हुलाक कार्यालयहरुको अनुगमन गरिएको बताउँदै पाण्डेले कतिपय कार्यालयहरु भवनविहीन र जीर्ण हुँदा पनि भवन निर्माण र मर्मतका लागि पहल नभएको भन्दै गुनासो गरे ।
दिवसका अवसरमा आजको पहिलो हुलाक टिकट खरिदकर्ता नेपालगञ्ज १ का जितबहादुर महत, बचत बैंकका पहिलो सेवाग्राही डुडुवा १ का बसन्तराज शर्मा, पहिलो चिठ्ठी रजिष्टर गराएका हिमालयन बैंकका फुलबहादुर स्यान्ताङ्ग र डाँके सेवाका आजका पहिलो सेवाग्राही अजय कुमार गुप्तालाई सम्मान गरिएको छ ।
त्यस्तै डाँक सेवामा कार्यरत खरिदार गंगाबहादुर राना, हुलाक बचत बैंकका नन्दकुमार गडरिया, हुलाकी मणिराम शर्मा र देवीलाल चौधरी, अतिरिक्त हुलाक कार्यालय विनौनाका शंखीलाल थारु, हिरमिनियाका जयपाल मौर्य, खास कारकाँदोकी किरण शर्मा, पत्र वितरकहरु कम्दीका विष्णु प्रसाद कुर्मी र नरैनापुरका जंगली प्रसाद श्रीवास्तबलाई सम्मान गरिएको छ । सेवा निवृत्त कर्मचारीहरु जगदीश कुम्हार, कमानसिंह साउद, धर्मराज जैशीलाई पनि सम्मान गरिएको कार्यालयले जनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाईं, निजामति कर्मचारी आधिकारिक ट्रेड युनियन बाँकेका अध्यक्ष कृष्णबहादुर थापा, अतिरिक्त हुलाक कार्यालय विनौनाका शंखीलाल थारु लगायतले हुलाक सेवालाई समयसापेक्ष र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।