सदरलाइनडटकम,
नेपालगञ्ज : वञ्चित समुह र प्राथमिक उपचार भन्ने मुल नाराका बाँकेमा प्राथमिक उपचार दिवस मनाइएको छ । हरेक वर्ष सेप्टम्बरको दोश्रो शनिवारका दिन विश्वभरी यो दिवस मनाउने गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजना एवं सोसाइटी वेलासपुर उपशाखाको समन्वयमा जुरेस भेरी इग्लिस मिडियम हाईस्कुलको व्यवस्थापनमा उक्त दिवस मनाइएको हो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य अजीतकुमार शर्मा र बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रस संस्थापक जे हेनरी ड्युनाको तस्वीरमा मल्यार्पण र दिपप्रज्वल गरी कार्यक्रमको उदघाटन गरेका थिए । दिवसका अवसरमा नेरेसोका केन्द्रीय सदस्य शर्माले घाइते वा विरामीलाई तत्काल घटना स्थलमा नै प्राथमिक उपचार सेवा पुर्याउन सके आकालमा हुने मृत्यु दरमा कमीहुने विश्वास व्यक्त गर्दै हरेक घरमा प्राथमिक उपचारक हुनु जरुरी रहेको कुरा उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रसको स्थापनानै प्राथमिक उपचार सेवाबाट सुरु भएको इतिहास रहेको उल्लेख गर्दै आफ्नै जीवन सुरक्षाका लागि प्राथमिक उपचारको ज्ञान सीप हुनु आवश्यक रहेको विचार व्यक्त गरे । कार्यक्रममा प्राथमिक उपचारको सैद्धान्तिक ज्ञान, महत्व, उद्देश्य, र सीपको प्रर्दशन गरिएको थियो । सो क्रममा रक्तश्राव रोक्ने विधि, सर्पको टोकाईको प्राथमिक उपचार, गला लाग्नु, मर्काइ र घाइतेलाई ओसार पसार गर्ने विधिको बारेमा अभ्यास गरिएको थियो ।
उक्त विषयको सहजीकरण नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्राथमिक उपचार प्रशिक्षकहरु निरञ्जना मल्ल, सरिता सिंह, प्रहलाद विश्वकर्मा र गौरीलाल बुढाथोकीले गरेका थिए । बाँके शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जुरेस भेरी इग्लिस मिडियम हाईस्कुलका प्रधानाध्यापक नरेन्द्र श्रेष्ठ, कार्यक्रमको उद्देश्य माथि शाखाका बरिष्ठ अधिकृत दोलखबहादुर डाँगीले प्रकाश पारेका थिए ।
कार्यक्रममा बाँकेका मन्त्री अजीज अहमद सिद्दिकी, उपकोषाध्यक्ष दुखीराम लोनिया, वेलासपुर उपशाखाका सभापति वीरेन्द्रमान श्रेष्ठ, नेपाल परिवार नियोजन संघ बाँके शाखा सभापति मुकुन्दबहादुर केसीलगायत उपशाखा क्षेत्रमा रहेका ९ वटा विद्यालयका शिक्षक र विद्यार्थी, शाखा, उपशाखा पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।