डेंगुबारे सचेतना फैलाउने डुडुवाको निर्णय

२७ भाद्र २०७६, शुक्रबार १९:१२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : देशभर डेंगु रोगको संक्रमण फैलिन थालेपछि बाँकेको डुडुवा गाउँपालिकाले सतकर्ता अपनाएको छ । गाउँपालिका स्वास्थ्य शाखाले शुक्रवार सरोकारवालासंग अभिमुखीकरण सहित संयुक्त बैठक गरेको छ । बैठकले असोज ५ गतेभित्र सबै वडामा सचेतनामुलक अभियान संचालन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका विभिन्न सार्वजनिक स्थान, विद्यालय, मदरसालगायत स्थानमा डेंगु रोगको परिचय, लक्षण तथा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा प्रबचन, पोस्टर, पम्पलेटको माध्यमले व्यापक प्रचार प्रसार गर्ने निर्णय भएको छ । कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले डेंगु रोगको संक्रमणबारे प्रस्तुती दिएका थिए ।
कार्यक्रममा वडाध्यक्ष मोहनराम मिश्र, प्रशुराम बुढाथोकी, कार्यपालिका सदस्य रिता परियारलगायतले डेंगु रोगको संक्रमण, जोखिमबाट बच्ने उपाय तथा समुदायमा स्वास्थ्य सचेतना कार्यक्रमका विषयमा आ आफ्नो सुझाव दिएका थिए ।
वडाध्यक्ष प्रशुराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो । गाउँपालिकाले विभिन्न टोलमा लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी छरिहेको छ । औलो रोगको समेत उच्च जोखिममा रहेको डुडुवा गाउँपालिकामा लामखुट्टेका लार्भा बढी सक्रिय भएकाले त्यसलाई नष्ट गर्न औषधी छर्ने अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
यो अभियानले डेंगु रोगको संक्रमण फैल्नबाट जोगाउने भन्दै उनले अब प्रत्येक टोल समुदायमा यसबारे जनचेतना फैलाउने कार्यक्रमलाई प्रभावकारी बनाउन अभियान नै शुरु गरिएको जानकारी दिए । अहिले मौसमीरुपमा देशैभरि फैलिएको भाइरल ज्वरोका विरामी डुडुवामा बढी देखिएका छन् ।
गाउँपालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरुमा अहिले दैनिकरुपमा ३ सय बढी विरामी उपचारका लागि आउने गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले शुरु गरेको निःशुल्क स्वास्थ्य सेवा अभियानअन्तर्गत संचालित दुई वटा प्रयोगशालामा टाइफाइड, मलेरिया परीक्षण गराउने विरामीहरुको संख्यासमेत बढ्दै गएको छ ।

Next Post

वैवाहिक नागरिकतामा तीन दलको विरोध

२७ भाद्र २०७६, शुक्रबार १९:१२
सदरलाइनडटकम, काठमाण्डौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन दलले वैवाहिक अंगीकृत नागरिकता प्राप्तीसम्बन्धी नयाँ व्यवस्थामा फरक मत राखेका छन् । संघीय संसद अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिको शनिवारको बैठकमा कांग्रेस, राजपा र समाजावादी पार्टीका सांसदहरुले लिखितरुपमा फरक मत राखेका हुन् । समितिका सदस्य तथा कांग्रेसका सांसद डा. अमरेशकुमार […]