सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली नारीहरुको महान पर्व तीजका अवसरमा बाँकेमा गत सातादेखि विभिन्न संघसंस्था र समूहद्वारा नाचगान तथा दर खाने कार्यक्रम आयोजित हुँदै आएका छन् । सरकारले विगत वर्षहरुमा झैं महिनौं दिनदेखि होटेल पार्टी प्यालेस र रेष्टुरेन्टहरुमा तीज जस्तो साँस्कृतिक पर्वलाई भड्किलोरुपमा मनाउन थालिएको भन्दै बाँकेमा गत सातादेखि मात्र तीजको चहलपहल शुरु भएको हो ।
सोही अवसरमा गुल्मेली समाज सेवा समितिले शनिवार तीज मिलन तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा समाजले यस वर्षको एसएससी परीक्षामा गुल्मेलीहरुका छोराछोरी मध्ये उत्कृष्ठ अंक ल्याउनेलाई नगद ४ हजारको पुरस्कारसहित सम्मान गरेको छ । यसरी पुस्कृत हुनेहरुमा छात्र तर्फ सम्मान काफ्ले र छात्रा तर्फ आकृति गौतम रहेको समाजका सचिव भिम कँडेलले जानकारी दिए ।
यसैगरि समाजका अध्यक्ष भाष्कर काफ्लेका अनुसार विभिन्न संघसंस्थाको विभिन्न पदमा निर्वाचित हुने समाजका सदस्याहरुलाई पनि सम्मान गरिएको छ । पर्वकै अवसरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रले पनि चेतनामूलक तिज तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ । “तीजलाई नाचगानमा मात्र सीमित नराखौं ः महिला अधिकार र चेतनामूलक सन्देश पनि दिउँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं महिला तथा बालबालिका कार्यालयका प्रमुख शोभा शाहले तीजलाई साँस्कृतिक पर्वको रुपमा बाचाई राख्न र भड्किलोरुपमा नमनाउन सबैलाई आग्रह गरिन् ।
केन्द्रकी अध्यक्ष लता शर्माले नारीहरुको महान साँस्कृतिक पर्व हरितालिका पर्वका अवसरमा हाम्रो संस्थामा आवद्ध सबै महिला दिदी वहिनीहरुलाई जुटाएर तिजलाई भड्किलो होइन, मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले चेतनामूलक तिज कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिइन् ।
उनले करीब दुई दशक लामो समयदेखि संस्थाले सामुदायिक विकास, महिला सशक्तिकरण, क्षमता अभिवृद्धि, बचत तथा लघु ऋण प्रवद्र्धन कार्यक्रमको माध्यमबाट विपन्न, सिमान्तकृत र पिछडिएका महिलाहरुलाई आर्थिक स्वावलम्बन गर्ने जस्ता क्रियाकलापहरु सञ्चालन गर्दै उनीहरुलाई नै लक्षित गरेर स्वास्थ्य सेवामा पनि सहज पहुँचको लागि सामुदायिक स्वास्थ्य सेवा सन् २०११ जुलाईदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको बताइन् । महिला बचत समन्वय समितिका सात वटै केन्द्रको सहआयोजनामा भएको कार्यक्रममा करीब २०० जना महिलाको सहभागिता रहेको थियो ।