आकर्षणको केन्द्र बन्दै थारु संग्रहालय

११ भाद्र २०७६, बुधबार १४:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : थारु जातिको इतिहास, रहनसहन, भेषभूषा, गरगहना, देवीदेउतालगायतको अध्ययन, अनुसन्धान गर्न दाङको दंगीशरण गाउँपालिका–३, चखौरामा संग्रहालय स्थापना गरिएको छ । दंगीशरण राजा, पाँच प्रगन्नासहित थारु जातिको सम्पूर्ण पौराणिक संस्कृति, रहनसहन, भेषभूषा, परम्परागत रीतिरिवाज झल्किने गरी थारु संग्रहालय स्थापना गरिएको हो ।
लोप हुन लागेको थारु संस्कृति, संस्कार र परम्पराको जानकारी एउटै थलोबाट दिने उद्देश्यले चखौरामा संग्रहालय स्थापना गरिएको प्रदेश ५ का सांसद डिल्लीबहादुर चौधरीले बताए । संग्रहालयमा थारु जातिले प्रयोग गर्ने पौराणिक भाँडावर्तनदेखि गरगहनासम्म र जन्मदेखि मृत्युसम्मका संस्कार झल्किने सामान राखिएको छ । थारु जातिको भान्सा, घरका कोठा, डिउह्रार (देवता भएको कोठा), भान्सामा प्रयोग हुने सामग्री, कपडा, परम्परागत शैलीमा लुगा राख्ने भौँका, भौँकी, चिक्ठीमा छिट्नी, अँट्वामा मकै, दुना, टपरी झुन्ड्याएर राखिएका छन् ।
थारु जातिले पूजा गर्ने देवता, भुइँह्यार थान, पौराणिक कथामा आधारित किच्किनी, मानव श्रृष्टिको कथामा आधारित डहरचण्डी, पाँच पाण्डवको प्रतीक समेत संग्रहालयमा राखिएको छ । संग्रहालयमा थारु जातिले संस्कृति, परम्परा, संस्कार, रीतिरिवाज र खानपिन तथा थारु राजा दंगीशरणको ऐतिहासिकता झल्काउने सामग्री संग्रहालयमा राखिएको सांसद डिल्लीबहादुर चौधरीले बताए । दाङमा राजकाज गरेको भनिएका दंगीशरणको ऐतिहासिक पृष्ठभूमिसहित उनको प्रतिमूर्ति पनि संग्रहालयमा राखिएको छ । दंगीशरण इतिहाससहित उनले राज्य गरेको इतिहासको जानकारी पाउने व्यवस्था संग्रहालयमा गरिएको छ ।
संग्रहालयमा दाङका पाँच प्रगन्नाको मूर्ति समेत हेर्न सकिन्छ । घनपट गुर्वावाका चार छोरामध्ये एउटा छोरालाई पछला प्रगन्ना, अर्कोलाई पाटु, अर्को छोरालाई छिल्ली, सवारी र अघला प्रगन्ना गरि बाँडेको र आफूले एउटा प्रगन्ना राखेको भन्ने इतिहासअनुसार घटनपट गुर्वावासहित उनका चार वटा छोराको प्रतिमूर्ति राखिएको संग्रहालय निर्माण समितिका संयोजक राजेश चौधरीले जानकारी दिए ।
संग्रहालयमा आउने पर्यटक तथा अवलोकनकर्तालाई बुलबुलिया ताल घुम्ने व्यवस्था समेत मिलाइएको छ । संग्रहालयमा डंगौरा थारुका साथै देसाउरी थारु र राना थारुका प्रतीक स्वरुप मूर्तिका साथै डंगौरा, देसाउरी र राना थारुले लगाउने गहना, लुगाकपडा पनि अवलोकनका लागि राखिएको छ । संग्रहालय भएको घरको भित्ता तथा ढोकामा चराचुरुङ्गी, घरपालुवा एवं जंगली जनावर, देवीदेवताको प्रतीक चिन्ह बनाइएको छ ।
प्रदेश ५ सरकारले ६५ लाख रुपैयाँ लगानी गरी स्थापना गरिएको संग्रहालय उद्घाटन नहुँदै अवलोकन गर्न आउन थालेको संग्रहालयका निर्देशक श्रमलाल चौधरीले बताए ।

Next Post

५० वर्षदेखि बस्दै आएको सुकुम्बासी बस्तीमा लालपुर्जा आतंक

११ भाद्र २०७६, बुधबार १४:५५
रुद्र सुवेदी , नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरको आलानगरका २५० घरधुरी सुकुम्बासी बस्तीमा लालपुर्जा आतंक फैलिएको छ । पाँच दशकदेखि जोतभोग गर्दै आएको जमिनमा भूमाफियाको चलखेलका कारण दिनहुँ जसो नयाँ–नयाँ व्यक्ति अस्थायी पुर्जा लिएर जमिन खोज्दै आउन थालेपछि ५० वर्षदेखि जोतभोग गर्दै आएका स्थानीय किसान आतंकित हुन थालेका छन् । […]