सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले शहरी विकास मन्त्री मो. इस्तियाक राईसँगको निरन्तर सहकार्यबाटनै नेपालगञ्जमा विकासले गति लिएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आइतवार गरेको पत्रकार भेटघाट कार्यक्रममा मेयर डा. धवलशम्शेर राणाले बाँके क्षेत्र नम्बर २ वाट निर्वाचित सांसदसमेत रहेका मन्त्री राईसँग कुनैपनि प्रकारको विमति र असमझदारी नभएको प्रष्ट पारे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल र प्रवक्ता प्रमोद रिजालले पनि मन्त्री राई र मेयर राणाको सहकार्यबाट नेपालगञ्जमा विकास अघि बढेको बताए । शहरी विकास मन्त्री राई र मेयर राणा जस्ता दुई होनहार नेतृत्व यो नगरले पाएको छ, पत्रकार भेटघाटमा प्रवक्ता रिजालले भने,– जसको सकारात्मक परिणाम यो शहरमा भईरहेको द्रुत विकासबाट पनि मापन गर्न सकिन्छ । दुईजनाबीचको सम्बन्ध धुमल्याउने गरि अनर्गल प्रजारवाजी भईरहेको भन्दै प्रवक्ता रिजालले नगर प्रमुख र मन्त्री राईको संयुक्त पांग्राबाट नगरको विकासको रथ अगाडी बढ्ने बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाले सबै कानूनी प्रक्रिया पुरा गरि सातवटा बस खरिद गरेको भन्दै मेयर राणाले केही दिनमै सञ्चालनमा आउने जानकारी दिए । साझेदारी विकास कार्यक्रमअन्तर्गत सञ्चालित बसको आम्दनी लक्षित वर्गका लागि खर्च गरिने उनले स्पष्ट पारे । बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका मेयर राणाले बागेश्वरी मन्दिरमा भत्काइएका सटर पुननिर्माण गर्न लागिएको बताउँदै यसमा आफ्नो ब्यक्तिगत ईगो नभएको प्रष्ट पारे । मन्दिरको विद्युत महशुलसमेत तिर्न नसकिरहेको अवस्थामा दुईबर्षमै ४० लाख आम्दनी भएको भन्दै उनले हल्लाको पछि लाग्नु भन्दा पनि यथार्थ बुझ्न सबैमा आग्रह गरे ।