सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिहरुको परिचयपत्र अद्यावधिक कार्य शुरु गरेको छ । ०७६ साउनदेखि मङ्सिर महीनासम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने परिचयपत्र अद्यावधिक गर्न नविकरण समेत गर्नुपर्ने भएकोले गाउँपालिकाका ६ वटै वडामा घर–घरमा पुगी परिचयपत्र नविकरण कार्य शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।
उनका अनुसार जेष्ठ नागरिक दिर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विवरण अपूर्ण भएको, दोहोरो परेको, नविकरण नभएको र छुट विवरण समेतलाई अद्यावधिक गर्न लागिएको छ । वडा कार्यालय वा गाउँपालिका कार्यालयमा पुगेर सामाजिक सुरक्षाभत्ता पाउने परिचयपत्र नविकरण कार्य अव्यवहारिक हुने भएकोले प्रत्येक वडा कार्यालयबाट महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी घर–घरमै सेवा प्रदान गरिएको प्रशासकीय अधिकृत शाहीले जानकारी दिए ।
गाउँपालिकाले यसअघि घुम्ती शिविर आयोजना गरेर जेष्ठ नागरिक परिचयपत्र, आपाङ्गता परिचयपत्र, वडाका योजनाको सम्झौता, सम्पन्न भएको योजनाको भुक्तानी, योजनाका लागि आवश्यक पर्ने बैंङ्क खाता खोल्ने सुविधासमेत घरङघरमा उपलब्ध गराएको थियो । गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधाको जानकारी दिन र जनताको काम गरिदिन गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि प्रत्येक वडामा पुग्ने गरेको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए । गाउँपालिकाले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रमसमेत कार्यान्वयन गरेको छ ।