सदरलाइनडटकम,
डुडुवा (बाँके) : रक्तसञ्चार सेवा दिवसकाअ अवसरमा बाँकेको डुडुवा गाउँपालिकामा बृहद् रक्तदान कार्यक्रम गरिएको छ । ‘अरुको लागि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ बेतहनी स्वास्थ्य चौकीमा गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा वडा नंं. १ देखि ६ सम्मका ९६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानौ, वडाध्यक्ष गजेन्द्र कैराती, वडासदस्य नेतराम मौर्य, तिरथराम कुर्मी, कौशल कैराती, अवधेश जायसवाल, अशोक मौर्य, निरज जायसवाल, गणेश सिंह, कर्मचारी, शसस्त्र तथा जनपद प्रहरी, स्वास्थ्यकर्मी, युवालगायत स्थानीयहरुले रक्तदान गरेको गाउँपालिकाले जनाएको छ ।
रक्तदान कार्यक्रमले विशेष गरि ग्रामिण क्षेत्रका युवाहरुमा रगत दिने उत्प्रेरणमुलक सन्देश प्रवाहका लागि गाउँपालिकाले रक्तदान कायक्रम गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले रगतको अभाव हुन नदिन र रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्नका लागि समुदायस्तरमा सचेतना अभिबृद्धी गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक टोलीले सहयोग गरेको थियो ।
कार्यक्रममा रक्तदान गर्नेहरुमा सबै भन्दा बढी युवाहरुको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । कार्यक्रमपश्चात् रक्तदाताहरुको संख्या बृद्धि तथा स्वस्र्फुत रुपमा रक्तदान गर्नेहरुका लागि नियमित रुपमा यस्तो कार्यक्रम संचालन गर्नुपर्ने रक्तदाताहरुले बताएका छन । त्यस अवसरमा रक्तदान बारे सचेतनामुलक अभिमुखीकरणसमेत गरिएको थियो ।