सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकालाई जिल्ला कै पहिलो साक्षर नगरपालिकाको रुपमा घोषणा गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले एक कार्यक्रमका बीचमा कोहपुरलाई साक्षर नगरपालिका भएको घोषणा गरेका हुन ।
प्रदेश नं.५ का कपिलबस्तु र बाँकेका कारण साक्षर प्रदेश घोषणा कार्यक्रमलाई अवरोध भएको जनगुनासो आईरहेको बेलामा कोहलपुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेर शुभ संकेत दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा संघिय साँसद महेश्वर गतराज ‘अथक’ ले शैक्षिक विकासमा कोहलपुर नगरपालिका जिल्लाकै प्रथम हुन सफल भएको भन्दै खुसी ब्यक्त गरे । उनले शिक्षा क्षेत्रको विकासमा विशेष रणनितिका साथ आफु लागिरहेको बताउँदै कोहलपुरसँगै आसपासका स्थानिय तहहरुमा समेत शिक्षाको विकास अपरिहार्य रहेको कुरामा जोड दिए ।
कोहलपुर नगरपालिका भित्र ९६ दशमलव ४२ प्रतिशत साक्षरताको तथ्याङ्क सार्वजनिक भएसँगै कोहलपुरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो । साक्षर नगरपालिका घोषणका १२ वटा मापदण्ड पुरा गरेको कारण कोहलपुरलाई साक्षर नगरपालिकाका रुपमा घोषणा गरिएको नगर प्रमुख रावतले बताए ।
१५ वर्षदेखि ६० वर्ष सम्मका उमेर समूहलाई कायम गरि कोहलपुरका ६० वर्ष भन्दा माथिका निरक्षर प्रौढहरुलाई साक्षरताको अवसर र नवसाक्षरलाई निरन्तर सिकाईको अवसर प्रदान गरीने छ । नगरपालिकाको कुल ९० हजार ९ सय ५६ जनसँख्यामा ३ दशमलव १५ प्रतिशत अर्थात २ हजार ८ सय ६९ नागरिक मात्र साक्षरताको समुहभन्दा बाहिर रहेका छन् ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्लामा सबैभन्दा छिटो साक्षर घोषणा हुने स्थानीय तहलाई नगद राशीसहित पुरस्कृत गर्ने निर्णय जानकारी गराउदै कोहलपुर नगरपालिकाले ५० लाख पुरस्कार पाउने जानकारी गराए ।
यसअघि सो घोषणा कार्यक्रमको तयारीका बारेमा नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको थियो ।
सो कार्यक्रममा कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी चौधरी, नेकपाका नगर सचिव तुलाबहादुर विष्ट, नेपाली काँग्रेस कोहपुरका सचिव भुमबहादुर भण्डारी, कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।