सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं. २ बेतहनीका स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । वडा नंं. २ बेतहनीअन्तर्गतका विभिन्न गाउँका गरि करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो ।
बेतहनी स्वास्थ्य चौकीमा शनिवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गर्दै डुडुवा क्षेत्रका नागरिकमा अशिक्षा, सचेतनाको अभावले स्वास्थ्यमा समस्या हुँदै आएको बताए । यो क्षेत्र औलोको उच्च जोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पुर्याउने भन्दै उनले गाउँपालिकाले समेत स्वास्थ्य सेवा अभियान सञ्चालन गरिरहेको बताए । नेपाल सरकार, सेभ द चिल्ड्रेन र लाइफलाईन नेपालको सयुक्त सहयोगमा २ नं. वडा कार्यालयको संयोजनमा झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले जानकारी दिए ।
वितरण कार्यक्रममा वडाध्यक्ष गजेन्द्र कैराँती, कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य रेखादेवी खटिक लगायतको उपस्थिती रहेको थियो । बाँके जिल्लाको डुडुवा ३ र बैजनाथ गाउँपालिकाको वार्ड नं. १, २ र ३ औलोको उच्च जोखिममा रहेकाले सो बाट बच्नका लागि किटनाशकयुक्त झुल वितरण गरिएको लाइफ लाईनका फिल्ड अफिसर रवि पाठकले बताए । ५ वर्षभन्दा माथीको उमेरका दुई जना बराबर एक वटाका दरले झुल वितरण गरिएको छ ।