सदरलाइनडटकम,
नेपालगञ्ज : आर्टअफ लिभिङले नेपालगञ्जमा पनि शाखा खोलेको छ । आर्टअफ लिभिङको काठमाडौंमा रहेको नेपालस्थित कार्यालय (एपेक्स बडी)ले नेपालगञ्जका सञ्जय थापालाई जिल्ला संयोजन समिति (डीसीसी) संयोजकको जिम्मेवारी दिएको हो ।
समितिमा अन्य चार सदस्य छन् । श्रीश्री रवि शंकर संस्थापक रहेको आर्टअफ लिभिङको भारतको बेंग्लोरमा मुख्यालय छ । आर्टअफ लिभिङले नेपालगन्जमा धेरै वर्ष अघिदेखि योग र ध्यानका कक्षा सन्चालन गरेको भए पनि एक वर्ष यता नियमित रुपमा योग तथा ध्यान शिविर सन्चालन भइरहेको योग प्रशिक्षक काव्य लम्सालले बताए ।
उनी भन्छन्, ‘नेपालगन्जमा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरु योगमा आकर्षित भएका छन् । आर्ट अफ लिभिङका स्वयंसेवकहरुको सक्रियता पनि लोभ लाग्दो छ ।’
काठमाडौं, पोखरा, बिर्तामोड (झापा), धरान, विराटनगर, वीरगन्ज, चितवन, बुटवल÷भैरहवा, दाङ र नेपालगन्जमा डीसीसी गठन गरिएको आर्ट अफ लिभिङको योग प्रशिक्षक संयोजक पुनम उप्रेतीले जानकारी दिइन् ।
उनका अनुसार काठमाडौंमा मात्र नियमित रुपमा योग ध्यानका लागि १३ वटा सेन्टर छन् । देशैभरी दुई दर्जनभन्दा बढी सेन्टरबाट नियमित रुपमा योग र ध्यानका कक्षाहरु सन्चालन भइरहेका छन् ।
आर्ट अफ लिभिङले यो साता नेपालगन्ज लगायत देशका २७ वटा स्थानमा एकै पटक योग तथा ध्यान सम्बन्धी प्यान ह्याप्पीनेस प्रोगाम सन्चालन गरेको थियो ।
नेपालगन्जको प्यान ह्याप्पीनेस समापन कार्यक्रमको अवसरमा नेपालगन्ज १८ का वडाध्यक्ष दीपक वर्माले योग र ध्यानबाट युवायुवती लगायत सबैले फाइदा लिनसक्ने बताए । उनले वडाको आगामी बजेटमा योगलाई पनि रकम विनियोजन गर्ने बताए ।
६ दिनसम्म सञ्चालन भएको ह्यापिनेस प्रोग्राममा ५८ जनाको सहभागिता रहेको आर्ट अफ लिभिङ नेपालगन्जका सरोज रेग्मीले जानकारी दिए ।