राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

१९ फाल्गुन २०७५, आईतवार १६:३४
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आइतवार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत, डा. मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता अधिकारीको शनिवार राति ९ बजेर ३५ मिनेटमा काठमाण्डौको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिएको थियो ।
उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि दिएका थिए । जनताका मोहन अर्थात् भरतमोहन अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुई पटक उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेका थिए । विसं २०४७ पुस २२ गते नेकपा (माक्र्सवादी) र नेकपा (माले)का बीचमा एकीकरणमा उनले अहम् भूमिका निर्वाह गरेका थिए ।
नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ तथा नेपालको संविधानमा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो । नेता अधिकारीले अर्थमन्त्री हुँदाका समयमा ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता कार्यक्रम अति लोकप्रिय रहेका छन् ।

Next Post

नेपालगञ्जमा आजदेखि प्रादेशिक महोत्सव शुरु

१९ फाल्गुन २०७५, आईतवार १६:३४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा आजदेखि प्रादेशिक महोत्सव शुरु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर कारकादोमा “प्रादेशिक महोत्सव–२०७५” शुरु भएको हो । फागुण २९ गतेसम्म सञ्चालन हुने महोत्सवको भव्य समारोहकाबीच शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उदघाटन गरे । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभा […]