सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शव दाङ ल्याईएको छ । उनको शवलाई अहिले नेकपाको तुलसीपुर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको पार्थिव शरिरमा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का सचिव जगप्रसाद शर्मा‘अपार’लगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शुक्रवार दिउँसो साढे २ बजे हेलिकप्टरबाट उनलाई तुलसीपुुर ल्याईएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तुलसीपुर अध्यक्ष खुसीराम चौधरीले बताए । पार्टी कार्यालयमा शुक्रवार साँझसम्म श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि उनको पार्थिक शरिर शनिवार १० बजे श्रीगाउँस्थित घरमा पुर्याईने छ । शनिवारनै उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।
गाडी दुर्घटनामा परि गम्भीर घाईते भएका वलीको काठमाण्डौको मेडासिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजेतिर निधन भएको हो । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ‘ख’ बाट निर्वा्चित सांसद वलीको पार्थिव शरिरलाई आज विहान ९ बजेदेखि ११ बजेसम्म नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली अर्पणका लागि राखिएका थियो । गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद ओली सवार कार र बस ठोक्ँिकदा दुर्घटना भएको थियो । वलीको टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो ।
बुटवलबाट गृहजिल्ला दाङ आउँदै गरेको अवस्थामा घोराहीबाट लमही तर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबहाक बस र सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । उनका श्रीमती र दुई छोरा छन् । २०४१ सालमा जन्मिएका सांसद वलीको ३४ बर्षको उमेरमा निधन भएको हो ।