सदरलाइनडटकम,
नेपालगञ्ज : दाउते इस्लामी नेपालको आयोजनामा अन्तर्राष्ट्रीय मुस्लिम धार्मिक प्रचवन नेपालगञ्जमा जारी छ । पाकिस्तानबाट आएका दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले कार्यक्रममा सम्बोधन गरेका छन् । कार्यक्रममा भारत, बगलादेश, यूएइ, यूएसए, पकिस्तानसहित दर्जनौ देशका धार्मिक ज्ञाताले कार्यक्रमलाई सम्बोधन गर्ने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान अलि मियाले बताए ।
सम्मेलनले धार्मिक मात्र नभई यसले समाजमा मेलमिलाप र सद्भावसमेत बढाउने स्थानीय जियाउ हक हल्वाईले बताए । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाईचारा, शान्ति कायम गर्ने उद्देश्यले दाउते इस्लामी नेपालले आयोजना गरेको अन्तरर्राष्ट्रीय सम्मेलन सोमवार सामूहिक प्रार्थनासहित समापन हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा बाँके प्रहरीले सुरक्षा प्रदान गर्नुका साथै भारतबाट आएका दाउते इस्लामीका बिद्यार्थीलाई जमुनहाबाट नेपालगञ्ज पुग्न विगतका वर्ष भन्दा यस वर्ष प्रहरीले सहज वातावरण बनाएको आयोजकले बताएको छ । सम्मेलन समापनका क्रममा दाउते इस्लामी नेपालमा अध्ययन गरेका बिद्यार्थीलाई दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले इस्लामिक उपाधी प्रदान गर्ने नेपालका अध्यक्ष मियाँले जानकारी दिए ।