माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै

२७ माघ २०७५, आईतवार १७:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतवार बाँकेसहित देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । श्री पञ्चमीका अवसरमा देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।
बसन्त पञ्चमीका अवसरमा नेपालगञ्जका विभिन्न सरस्वती मन्दिर, बागेश्वरी मन्दिर लगायतका देवी स्थानमा भक्तजनहरुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धा्ङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्व्सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।


पूजाअर्चनाका साथै विद्यालयमा सांस्कृतिक कार्यक्रम
श्री पञ्चमीका अवसरमा बाँकेका विभिन्न विद्यालयमा माता सरस्वतीको पूजाआजा गर्नुका साथै विविध भइरहेका छन् । डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित सरस्वती माध्यमिक विद्यालय भंघोटना, जंगली सिँह पुर्वा प्रावि र सिक्खनपुर्वा प्राविमा विविध कार्यक्रम गरिएका छन् भने बोर्डिङ स्कुलहरुमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।
भेरी जोन इङलिश मिडियम बोर्डिङ स्कुल, सनराइज इङलिश मिडियम बोर्डिङ स्कुलमा विद्यालयका छात्रछात्राले विभिन्न शिक्षामुलक र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस्तै नेपालगञ्जको वाटरपार्क इङलिश मिडियम हाईस्कुल, ब्रिटिस स्कुलले विद्यार्थी भर्नासँगै अक्षर आरम्भ गराएर श्रीपञ्चमी मनाएका छन् । नेपालगञ्ज मात्र नभई जिल्लाका अधिकांश विद्यालयमा हर्षोल्लासका साथ माता सरस्वतीको पूजा आराधना गरिएको छ ।

तस्बिर : भेरी जोन इङलिश मिडियम बोर्डिङ स्कूलमा प्रस्तुती दिँदै छात्रछात्रा ।

Next Post

व्यक्तिगत लगानीमा माता सरस्वतीको मुर्ति स्थापना

२७ माघ २०७५, आईतवार १७:३०
सदरलाइनडटकम, जानकी (बाँके) : श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुलकुमार पाठकले व्यक्तिगत लगानीमा मुर्ति स्थापना गरेका हुन् । आइतवार श्रीपञ्चमीका अवसरमा मुर्तिको स्थापना गरिएको हो […]