कलाकारसँगै रमाए मन्टेश्वरीका बालबालिका

२२ माघ २०७५, मंगलवार ११:३४
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपाली चलचित्रका युवा नायक र गायक स्थानीय मन्टेश्वरीका बालबालिकाहरुसँग दुई दिनसम्म रमाएर बालबालिकाहरुलाई उर्जा थपिदिएका छन् ।
राष्ट्रीय युवाकलाकारद्वय दिपक ढकाल र टंक तिमिल्सेना कोहलपुर नगरपालिका ११, साझा चोकस्थित नोवेल प्रि–मन्टेश्वरी स्कुलका बालबालिकासँग प्रत्यक्ष भेटेका हुन् । दिपक ढकाल सुब्बा साहेब र लेक साइट नामक नेपाली चलचित्रका अभिनेता हुन् भने टंक तिमिल्सेना चर्चित युवा गायक हुन् ।
बालबालिकाको चौतर्फी र वौद्धिक विकासका लागि आयोजना गरिने अतिरिक्त क्रियाकलापअन्तर्गत कलाकारहरुसंग साक्षात्कार कार्यक्रमको आयोजना गरिएको नोवेल प्रि–मन्टेश्वरी स्कुलका प्रिन्सिपल लुना बुढाथोकीले बताए । चलचित्रका नायक ढकाल कलाकार नामक टेलिभिजन च्यानलका लागि छायाङ्कन गर्न र तिमिल्सेना कोहलपुर महोत्सवमा भाग लिन कोहलपुर आएको मौकामा स्कुलले साक्षात्कार गराएको प्रिन्सिपल बुढाथोकीले जानकारी दिए ।


डेढ घण्टासम्म नोवेल प्रि मन्टेश्वरी स्कुलमा बिताएका कलकारद्वयले अभिनयका साथ आफ्ना गीत र कला प्रस्तुत गरे भने बालबालिकाहरुले पनि गीत गाउँदै मनोरञ्जन लिएका थिए । चलचित्रका नायक ढकाल कलाकार नामक टेलिभिजन च्यानलका लागि बालबालिकाहरुले प्रस्तुत गरेको गीत र नृत्यको भिडियो रेकर्डिङ्गसमेत गरेका थिए ।
कार्यक्रममा सहभागी कलाकारद्वयलाई नोवेल प्रि–मन्टेश्वरी स्कुलका प्रिन्सिपल बुढाथोकीले स्कुल परिवारको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए भने बालबालिकाहरुले कलाकारद्वयलाई पुष्प गुच्छा दिएर स्वागत गरेका थिए । विसं. २०६७ सालमा बाँकेमा मन्टेश्वरी शिक्षाको महत्व र आवश्यकता महशुस गरी ७ जना विद्यार्थीबाट शुरु गरिएको बाँके जिल्लामै पहिलो मन्टेश्वरी नोवेल प्रि–मन्टेश्वरी स्कुलमा अहिले ८ जना शिक्षकशिक्षिका र ४८ जना विद्यार्थी छन् ।



स्कुलले बालबालिकालाई उत्प्रेरणा जगाउन र उनीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने खालका विभिन्न किसिमका कार्यक्रम आयोजना गर्दै आएको छ । गत महिनामात्र भव्यताका साथ कोहलपुरमा प्रथम वार्षिकोत्सव आयोजना गरेको बाँकेमा रहेका मन्टेश्वरीहरुको संगठन मन्टेश्वरी एशोसिएशनका अध्यक्षसमेत रहेकी प्रिन्सिपल बुढाथोकीले इटालीमा जन्मेकी स्वर्गीय डा. मारिया मन्टेश्वरीद्वारा प्रतिपादित व्यावहारिक तथा वस्तुगत शिक्षाविधिको अवधारणा अनुरुप शुरु गरिएको मन्टेश्वरी विश्वव्यापीरुपमा लोकप्रिय हुँदै गएको र बाँकेमा २०६६ सालदेखि मात्र शुरु भएको जानकारी दिइन् ।

Next Post

वडाध्यक्ष मल्लद्वारा बिद्यालयलाई सहयोग

२२ माघ २०७५, मंगलवार ११:३४
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले बिद्यालयमा खानेपानी धारा जडानका लागि तलब सहयोग गरेका छन् । आदर्श माबि खजुरालाई मल्लले एक महिनाको तलब सहयोग गरेका हुन् । प्राचार्य राजेन्द्र सापकोटा र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खड्कालाई मंगलवार एक महिनाको १९ हजार […]