सदरलाइनडटकम,
बढैयाताल (बर्दिया) : बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं.२ सितापुरमा पाटेबाघको आक्रमणमा परेर एक जनाको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरी चौकी जमुनीका ईन्चार्ज प्रहरी नायव निरिक्षक लोकेन्द्र कार्कीले दिएको जानकारी अनुसार गौघाटबाट सितापुर जाने पक्की पुल तरेर जाने बाटोमा सोमबार साँझ ५ः २० मा उनीहरुमाथि पाटे बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणमा पारेर स्थानीय ७१ वर्षिय चन्द्रबहादुर शाही र ३० वर्षिय विजय बुढा क्षेत्रीमाथि आक्रमण गरी घाइते बनाएकोमा शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो भने बुढा क्षेत्रीको टाउको, ढाड र घाँटीमा घाउ लागेको भए पनि उनको अवस्था सामन्य रहेको जनाईएको छ ।
सदरलाइनलाई प्राप्त भिडियोमा गहुँबारीमा पाटेबाघ हिडेको स्पष्ट देख्न सकिन्छ । गाउमा पाटेबाघ पसेर दिउसै मानवमाथि आक्रमण गर्न थालेपछि गाउ नै त्रसित बनेको छ ।
प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक कार्कीले स्थानीयको सुरक्षाको लागि ईलाका प्रहरी चौकी मैनापोखर, प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पबाट प्रहरी घटनास्थलमा खटेका छन् ।
घटनास्थलमै रहेका सञ्चारकर्मी गणेश राईले सदरलाइनसंग फोनमा कुरागर्दै भने–‘हामी सबै घरको छतमा बसेका छौ अवस्था अत्यन्तै संवेदनशिल छ ।’ सो पाटेबाघ दक्षिणमा रहेको भारतको जंगल र मानखोलाको जंगलबाट आएको हुनसक्ने आशंका गरिएको छ ।
फोटो भिडियो : गणेश राई