हातमा कालो पट्टी बाँधेर प्रशासन गेटमा धर्ना

१७ मंसिर २०७५, सोमबार १६:२३
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका निम्ति न्याय माग्दै कञ्चनपुरका महिला अधिकारकर्मीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । निर्मलाको न्यायका लागि पीडित परिवारले शुरु गरेको अनिश्चित्कालीन धर्नामा बस्दै आएको नागरिक संघर्ष समितिले सोमवारबाट आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।
२२ दिनदेखि परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले सोमवार कञ्चनपुरको जिल्ला प्रशासान कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । कार्यालय समयलाई लक्षित गर्दै ११ बजेदेखि ४ बजेसम्मका लागि प्रशासन गेट अगाडी विरोध प्रदर्शन गर्ने उनीहरुले बताएका छन् ।
निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको महिला अधिकारकर्मी शारदा चन्दले बताइन् । उनले सोमवार र मंगलवार ११ देखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध जनाउने, १८ गते दिउँसै टर्च तथा लाल्टीन बालेर प्रदर्शन गर्ने र २० गते मानव साङ्लो बनाएर प्रदर्शन गर्ने जानकारी दिइन् ।
चन्दका अनुसार २० गतेसम्म नयाँ तरिकाको आन्दोलनबाट सरकारलाई दबाव दिइनेछ । सरकारले आफुहरुको मागको बेवास्ता गरे सबै पक्षसँग पुनः छलफल गरेर आन्दोलनका कार्यक्रम तय गरिने उनले चेतावनी दिइन् ।

Next Post

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा तालाबन्दी

१७ मंसिर २०७५, सोमबार १६:२३
सदरलाइनडटकम, नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा विद्यार्थीहरुले अनिश्चित्कालीन तालाबन्दी गरेका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई सहायक क्याम्पस प्रमुख श्रीनिवास अधिकारीले अपमानपूर्ण व्यवहार गरेको भन्दै विद्यार्थी संगठनहरुले सोमवार क्याम्पसमा तालाबन्दी गरेका हुन् । बीसीए दोश्रो सेमेष्टरका विद्यार्थीहरुलाई पढाउँदैं गरेका शिक्षक सन्तकुमार बर्मालाई मानविकी संकायका सहायक क्याम्पस प्रमुख अधिकारीले अपमानपूर्ण […]