हडियाबाबा आश्रममा आँखा तथा कानको निशुल्क शिविर

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर १४, २०७५       | 94 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगन्जको हडिया बाबा आश्रममा प्रत्येक वर्ष मंसिर द्वितीयामा सञ्चालन हुने मेलामा आएका देशविदेशबाट आएका सन्तमहन्तहरूका लागि आँखा शिविर सञ्चालन गरिएको छ ।
नेपाली कांँग्रेस बाँके क्षेत्रीय कार्यसमिति–३ (साविक) को आयोजनामा सञ्चालन भएको शिविरलाई फत्तेबाल आँखा अस्पताल नेत्र ज्योति संघ, बाँके र ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र, बाँकेले स्वास्थ्यकर्मी उपलब्ध गराएर सहयोग गरेको थियो ।
आँखा तथा कान सम्बन्धी समस्याले ग्रसित देश विदेशबाट आएका सन्त महन्तलाई सानो सहयोग गर्ने उद्देश्यले आँखा तथा कान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको संयोेजक एवं नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति–३ (साविक) का सदस्यसमेत रहेका प्रदीप शाहले बताए ।
उनले देशविदेशका सन्त महन्तहरूको आकर्षणको केन्द्र मानिने हडिया बाबा आश्रममा आएकाहरूलाई सहयोग स्वरूप शिविर सञ्चालन गरिएको बताए । शिविरमा सामान्य समस्याले ग्रसित सन्त महन्तलाई शिविरका संयोजक प्रदीप शाहले निःशुल्क औषधि वितरण गरेका थिए भने, कान सम्बन्धी ठूलै समस्या देखिएका सन्त महन्तका लागि सर्जरी गर्नु पर्ने देखिए सहुलियत दरमा सर्जरी गरिने ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका कान स्वास्थ्य अधिकृत रामबहादुर बोहोराले जानकारी दिए ।
७ जनाको स्वास्थ्य प्राविधिक टोली फत्तेबाल आँखा अस्पताल नेपाल नेत्र ज्योति संघ, बाँकेले पठाएको थियो । सन्त महन्त अधिकांश ज्येष्ठ नागरिक रहेकाले लगभग ७५ प्रतिशतमा आँखा सम्बन्धी समस्या देखिएको फत्तेबाल आँखा अस्पताल नेपाल नेत्र ज्योति संघ बाँकेका प्रमुख कौशलकुमार बर्माले जानकारी दिए ।
त्यस्तै रकम कै अभावमा शल्यक्रिया वा चश्मा लिन नसक्ने सन्त महन्तका लागि दृष्टिविहीन हुन् नदिने उद्देश्यले अन्य स्रोतबाट निःशुल्क सेवा प्रदान गरिने समेत उनले बताए ।
शिविरमा चार सय ३६ जना सन्त महन्तको आँखा जाँच गरिएको थियो । जसमध्ये ७० जनालाई आँखा अस्पताल रेफर गरिएको छ भने दुई सय २४ जना कान सम्बन्धी समस्या भएकामध्ये २१ जनालाई रेफर गरिएको संयोजक प्रदीपले जानकारी दिए ।
श्री १००८ हाडिया बाबा आश्रममा लाग्ने मेला भर्न भारतको अयोध्या, हरिद्वार, पूर्णागिरी, ऋषिकेश, बहराइच, गोण्डालगायत नेपालका धार्मिक शक्तिपीठमा रहेका सन्त महन्तहरू आउने गर्छन् । तीन दिनसम्म लाग्ने मेलामा आएका सन्त महन्तहरूका लागि इच्छाएका व्यक्तिले भण्डारा सञ्चालन गर्ने गर्छन् । आश्रममा मंसिर ५ गतेदेखि श्री पुराण भागवत् कथा सुनाइएको थियो ।यसैबीच मेला भर्न आएका सन्त महन्तलाई दान दक्षिणलगायत सल र च्यादर पनि वितरण गरिएको थियो । आठ सय ५० जनालाई सल र कम्बल वितरण गरिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १४, २०७५     8:14:25 PM  |