नेपालगञ्जमा छक्का पञ्जा–३ को एकाउन्न दिन पूरा

  
  प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५       | 46 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको बागेश्वरी चलचित्र मन्दिर हाल क्युएफएक्स सिनेमाले नेपाली कथानक चलचित्र छक्का पञ्जा–३ ले बिहीवार ५१ दिन पूरा गरेको अवसरमा केक काटेको छ । यसअघि १७ वर्ष पहिला सो सिनेमा हलले श्रीकृष्ण श्रेष्ठको दुख सुखले ५१ दिन पुरा गरेको थियो ।
दर्शकको माग अझै रहेपनि अन्य चलिचित्र क्युमा रहेका कारण शुक्रवारदेखि उक्त चलचित्र प्रदर्शन नगर्ने क्यूएफएक्स सिनेमाका असिस्टेन्ट फैसिलिटी म्यानेजर निरजमान शाक्यले बताए । चलचित्रका निर्माता, निर्देशक र कलाकारहरु केही कारणबस नेपालगञ्ज आउन नभ्याएपछि सिनेमा हलले केक काटेर खुशीयाली मनाएको उनले बताए ।


अहिलेसम्म पनि छक्का पञ्जा हेर्ने दर्शकको संख्यामा कमी नआएको दाबी गर्दै उनले केही मान्छेले यो चलचित्र तीन पटकसम्म हेरेको बताए । दशैँको घटस्थापनाका दिनदेखि शुरु भएको छक्का पञ्जा–३ हालसम्म २९ हजार दर्शकले हेरेको शाक्यले सुनाए ।
नेपालगञ्जमा नेपाली चलचित्रको बजार बढ्दै गएको भन्दै उनले चलचित्रको कथा बस्तु स्तरीय हुनुका साथै क्यूएफएक्स सिनेमाले दर्शकलाई दिएको सुविधाका कारण पनि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको बताए ।

प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५     7:19:29 PM  |