सदरलाइनडटकम,
नेपालगञ्ज : देउसीभैलो खेलेर संकलन गरेको रकम पिकनिक खाने र घुमघाम गरेर सक्ने बाँकेका यूवा र बाल क्लवले यस बर्षको दीपावलीमा देउसीभैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगाउने भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१ मा गठन भएको बाल क्लव संजालले यस बर्ष देउसीभैलो खेलेर संकलन भएको रकमको २५ प्रतिशत बालबालिकाको शिक्षा, उद्धार, पुनस्र्थापना लगायतमा खर्च गर्ने भएको छ ।
संकलन भएको रकमको २५ प्रतिशत रकम बालबालिकाको अधिकारका लागि अक्षयकोष स्थापना गरिने बाल क्लव संजालले जनाएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सहयोगी आवाज नामक संस्थाले लागूऔषध दुब्र्यसन विरुद्ध सचेतना जगाउन देउसीभैलो खेलेको समितिका अध्यक्ष भीम ओलीले बताए ।
यसैवीच, चिकित्सक, पत्रकार, मानवअधिकारकर्मीसहितको टोलीले निल सागर वृद्धाश्रमको सहयोगार्थ भैली खेलेका छन् । बृद्धबृद्धाको स्याहार सुसार, औषधि उपचार, खानपानमा सहयोग गर्न भैलो खेलेको इन्सेकका भोला महतले बताए ।
कोहलपुर नगरपालिका १४, हवलदारपुरस्थित समाज सेवा संस्था नेपालले दृष्टिविहीनको सहयोगार्थ देउसी–भैलो खेलिरहेको छ । देउसीभैलो खेलेर संकलन भएको रकम दृष्टिविहीनको आर्थिक उपार्जनमा खर्च गरिने संस्थाका विनोद थापाले जानकारी दिए ।
अघिल्ला बर्षका तिहारमा देउसी–भैली खेलेर जम्मा गरेको रकम मनोरञ्जन र खानपिनमा सकिन्थ्यो । देउसी–भैलो खेलेर संकलन भएको रकम पिकनिक र खानपिनमा सकाउने प्रचलन बाँकेमा बढे पनि यस बर्ष सामाजिक कार्यमा लगाउनेको संख्या बढेको छ ।