‘सशक्त’ शिवकुमार

१६ भाद्र २०७५, शनिबार १९:३५
 

वर्षौदेखि नेपाली कम्युनिष्ट कार्यकर्ताको सपना पुरा भएको छ । नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकिकरणपछि कम्युनिष्ट कार्यकर्ता विचमा हर्षको लहर पैदा भयो । विगतदेखि बहुमत कम्युनिष्ट टुक्रा टुक्रामा विभाजित थियो । नेपाल कम्युनिष्ट पार्टी निर्माण पछि नेपालमा ऐतिहासिक बहुमत प्राप्त सरकार समेत बनेको छ । यससंगै जिल्लामा हुने पार्टीको नेतृत्वका लागि प्रक्रिया सुरुभएको छ । दाङबाट अध्यक्षका लागि सिफारिस गरिएका शिवकुमार आचार्य को हुन् ? नवीन अभिलाषीले तयार पारेको ब्यक्तित्व चर्चा  : (सम्पादक)

स्थानीय तहको निर्वाचनको माहोल थियो । नेकपा एमालेको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए नरुलाल चौधरीले । केपी ओलीको राष्ट्रबादले एमाले प्रति जनताको विस्वास ह्वात्तै बढेको थियो । तर कमजोर थिएनन् प्रतिस्पर्धी शक्तिहरु ।

एमाले कि गर्ने कि मर्नेको जोसमा थियो । नरुलाल चौधरी गाउँ केन्द्रित थिए । सम्पर्क कार्यालय थियो घोराही तुलसीपुर चौक देखि तल । कार्यालय व्यवस्थापन देखि सम्पुर्ण आर्थिक भारको बन्दोबस्तका लागि खटिएका थिए शिवकुमार आचार्य । निर्वाचन परिचालक कमिटिका संयोजक थिए आचार्य ।

जव जव निर्वाचन आउछ, तव तव शिवकमार आचार्यको भुमिका बलियो बन्छ । २०४८ सालको निर्वाचनमा सिंगो देउखुरीको कमाण्ड सम्हाल्ने आचार्यले २०५१ सालको आम निर्वाचनमा ढिकपुर र विजौरीको कमाण्ड सम्हालेर पार्टीलाई निर्वाचित बनाउन सफल भएका जुझारु नेता हुन् । २० वर्ष पछि स्थानिय तहको निर्वाचनमा समेत घोराहीबाट शिवकुमार आचार्यले पार्टीलाई जिताउन सहयोग गरे ।

सुन्यबाट सुरुवात
शिवकुमार आचार्य दाङमै जन्मेका नेता हुन्, तत्कालिन काभ्रे गाविस । मिति हो २०२२ साल । बाँकी महिना र गते थाहा छैन । दुई वर्षको उमेरमा दाङ झरेका आचार्य ढिकपुर प्राविबाट अक्षरारम्भ गरे ।

त्यसपछि तेघरा, धर्ना हुँदै नारायणपुरबाट एसएलसी दिएका आचार्यले आईए महेन्द्र बहुमुखिबाट उत्तिर्ण गरे । तर डिप्लोमा भने त्यति सहज भएन । उनि जेल जानु पर्यो । त्यहि जेलबाटै उनले डिप्लोमा सिध्याए । डिग्रीको लागि काठमाण्डौ पसेका शिवकुमार आचार्यले पार्टीकै लागि भनेर दाङ झर्नु पर्यो । सपना पुरा भएन ।

राजनीतिक कार्यकर्ताकै रुपमा उनले २०५० सालमा विवाह गरे मेनका पोख्रेलसंग । मेनका पोख्रेल आफैमा पञ्चायत कालदेखिको राजनीतिक आन्दोलनकी अग्रणी मानिन्छन् । शिवकुमार आचार्य र मेनका पोख्रेलको विवाहको लागि पार्टीले निर्णय गरेको माईन्युटमा उतारिएको छ । यसको प्रस्ताबक पार्टीले नै गरेको छ । शिवराम गौतमको अध्यक्षता र हालका रक्षामन्त्री ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिवकुमार र मेनकाको विवाह सम्पन्न भयो । जुन कायक्रमको सञ्चालन छविलाल वलीले गरेका थिए ।

राजनीतिक रफ्तार
२०३५ साल तिर । किसान आन्दोलन चर्किएको थियो । नेत्रलाल माड्साव, रत्नबहादुर खत्री लगाएतका नेताहरु गाउँमा पुग्थे । उनिहरुको जीवनबाट प्रभावित थिए शिवकुमार । संकल्प लगाएतका केहि पत्रिकाहरु, पुस्तकहरु उनको पँहुचमा थिए । उनले त्यो अध्ययन गर्थे ।

जीवन आफ्नो लागि मात्र हैन भन्ने उनलाई महसुस हुन थाल्यो । समाज र परिवर्तनका लागि जीवनलाई अगाडी बढाउनु पर्छ भन्ने चेतना पैदा भयो आचार्यमा । राजनीतिमा उनको सक्रियता सुरुवात भयो । जतिबेला उनि विद्यार्थी नै थिए ।

२०४० सालमा उनि अनेरास्ववियूको प्रारम्भीक कमिटिको अध्यक्ष भएर उनले औपाचारिक रुपमा आफ्नो राजनीतिक जीवनको सुरुवात गरे । त्यसको दुई वर्षपछि ४२ सालमा अनेरास्ववीयू जिल्ला सम्मेलन आयोजक कमिटिको सदस्य बने । शिवकुमार आचार्यको सक्रियता अनुसार नै उनिको राजनीतिक प्रगतीको रफ्तार तिव्र बन्दै गयो । २०४३ सालमै भएको जिल्ला सम्मेलनबाट उनि नै जिल्ला सचिव बनेका आचार्य २०४५ मा उपाध्यक्षमा निर्वाचित भए ।


विद्यार्थीको हकहितलाई बलियो गरी उठाउनमा सक्रियता देखाउनु, क्रान्तिको नीति अबलम्बन गर्नु, पार्टीको नीति विचारलाई जनता र विद्यार्थी समक्ष पुर्याउनु त्यति बेलाको विद्यार्थी नेताहरुको प्रमुख कार्य थियो । २०४६ मा आचार्य जेल परे । जेलबाट छुटेर २०४७ सालमा सम्मेलन आयोजक कमिटिको नेतृत्व सम्हाले । त्यहि सालको भदौमा अध्यक्ष बनेका शिवकुमार ४०४८ मा राष्ट्रिय महाधिबेसनबाट राष्ट्रिय परिषद सदस्यमा निर्वाचित भए ।

२०५० सालमा विद्यार्थी आन्दोलनको केन्द्रीय राजनीति छोडेर फेरी जिल्ला फर्किए आचार्य । २०५० सालमा नेकपा एमाले जिल्ला परिषद् सदस्य बनेको उनि जिल्लाको स्कुल विभाग प्रमुखको नेतृत्व लिएर पार्टीको मुलधारमा आएका हुन् । त्यसपछिको निरन्तर पार्टी राजनीति, कार्यकर्ता उत्पादन, जनतामा पार्टीको नीति विचार सम्प्रेषणमा काम गरेका आचार्यले यस विचमा भएको निर्वाचनको कमाण्ड सम्हालेका छन् । द्धन्द्धको समयमा पुन ः काभ्रे पुगेर एमालेको कम्युनिष्ट आन्दोलनमा उनले काम गरेका छन् ।

२०६२/६३ मा पार्टीको घोराही नगर प्रमुखको जिम्मेवारी लिएका आचार्यले २०६४ सालमा नेकपा एमालेको जिल्ला कमिटि सदस्य र २०६५ सालमा राष्ट्रिय महाधिबेसन प्रतिनिधि बने । २०६५ सालमा उनि अञ्चल सदस्य बनेका शिवकुमार संघीय प्रणाली अनुसार प्रदेश सदस्यको जिम्मेवारीमा छन् ।

विद्यार्थी आन्दोलनको केन्द्रमा पुगेका आचार्य पार्टीको जिम्मेवारी सम्हाल्न फेरी दाङ आएका थिए । पार्टीको नेतृत्व गर्दै केन्द्रिय महाधिबेसन प्रतिनिधि र प्रदेश सदस्य बनेका आचार्यलाई यतिबेला फेरी दाङ फर्किने प्रक्रिया सुरु भएको छ । पार्टी एकिकरण पछि बनेको बृहत पार्टीको नेतृत्व सम्हाल्नका लागि उनको नाम केन्द्रमा सिफारिस भएको छ ।

जेल जीवन
२०४६ मा किसान आन्दोलन चर्किरहेको थियो । र नाकाबन्दीको विरुद्धमा विद्यार्थीहरु सडकमा थिए । आन्दोलनकै क्रममा आचार्य जेल परे ।

जेल जीवन सबैको कष्टकर नै हुन्छ । राजनीतिक परिवर्तनका लागि धेरैले जेलमा पुगेका छन् । त्यति परिवर्तनको पक्षधर हुन आचार्य । उनि संगै ८ जना जेल परेको आचार्यलाई स्मरण छ । भावगत विस्वासी, जोखराज गिरी, सेवकराम भण्डारी, बलदेव आचार्य, ढाटाराम जिसी, शिवराज श्रेष्ठ र बुद्धिप्रकाश चौधरी जेल गरेका थिए ।

डिप्लोमा अध्ययन गर्दै गरेका आचार्यले त्यहि जेलबाट परिक्षा दिएर उत्तीर्ण गरे । जेल बसाईको क्रममा उनले जेल भित्रै बन्दी माध्यामिक विद्यालय सञ्चालन गरे । त्यति स्कुलबाट भागवत विस्वासी, शिवराज, ढाटाराम लगाएतले एसएलसी समेत दिए र उत्र्तिण गरे ।

सहकर्मी / समकक्षी
अहिलेका चर्चित नेता योगेश भट्राई शिवकुमार आचार्यका समकक्षी हुन् । चर्चित नेता गोकर्ण विष्ट, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, राजन भट्टराई, केशव भण्डारी उनको सहकर्मी र समकक्षी हुन् । उनिहरु संग एउटै कमिटिमा बसेर लामो समय नेपाली राजनीतिक आन्दोलनमा काम गरेका छन् ।

जिल्ला र प्रदेशका धेरै नेताहरु कुनै समय शिवकुमार आचार्यको मातहतमा रहेर काम गरेका छन् भने केहि नेताहरु शिवकुमारको विचार, नीति र दृष्टीकोणबाट प्रभावित भई कम्युनिष्ट आन्दोलनमा होसिकएका थिए । भागवत विस्वासी विद्यार्थी आन्दोलनको केन्द्रमा रहदा आचार्यले जिल्लाको नेतृत्व सम्हाले थिए भने उनलाई नै जिल्लाको नेतृत्वमा ल्याएर आफले केन्द्रको नेतृत्व समातेको मिठो ईतिहास आचार्यसंग ।

 लक्ष्मण आचार्यलाई केन्द्रमा पुर्याएर आफु जिल्लामा फर्किएका आचार्यले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई २०५४ सालमा उपमेयर बनाउनका लागि गरीएको कोसिसहरुले आचार्य जिल्लाको बलियो कम्युनिष्ट नेताको रुपमा चिनिन्छन् । ‘राजनीतिमा महात्वाकाक्षी भावना हुने साथीहरु अगाडी गए, मैले उनिहरुलाई सहयोग गरेँ, म भित्र त्यो भावना आएन ।’ शिवकुमार आचार्य भन्छन्, ‘को कुन पोष्टमा भएको छ भन्ने भन्दा पनि कस्ले के काम गरेको छ भन्ने महत्वपुर्ण हुन्छ ।’

Next Post

चिकित्सक आन्दोलित, आकस्मिकबाहेकका सेवा ठप्प

१६ भाद्र २०७५, शनिबार १९:३५
सदरलाइनडटकम, नेपालगन्ज : आकस्मिकबाहेकका स्थास्थ्य सेवा बन्द गरी आइतवार बाँकेका चिकित्सकहरु आन्दोलित भएका छन् । आफुहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै डाक्टरहरु आन्दोलित भएका हुन् । मुलुकी अपराध संहिता ऐन २०७४ संशोधनको माग गर्दै नेपाल चिकित्सक संघ, चिकित्सक समाजलगायत विभिन्न संघसंस्थाको अगुवाइमा बाँकेका चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । आकस्मिक सेवाबाहेकका […]