सदरलाइनडटकम
२४ चैत, नेपालगन्ज : स्वास्थ्य सेवा सबैलाई, जहिले पनि जहाँ पनि भन्ने मूल नाराका साथ ७० औं स्वास्थ्य सेवा दिवस नेपालगन्जमा प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरी मनाईएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा शनिबार विहान उप–महानगरपालिकाको कर्यालयबाट शुरु भएको प्रभातफेरी, धम्वोझी चौक हुँदै पुनः विपीचोक पुगेर सभामा परिणत भएको थियो ।
स्वास्थ्यकर्मी, उप–महानगरपालिकाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेवीका, नर्सिंङ विद्यार्थी लगायतका सहभागितामा स्वास्थ्य सचेतना प्लेकार्ड सहित प्रभातफेरी गरिएको हो ।
प्रभातफेरी समापन समारोहमा बोल्दै उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले स्वास्थ्य सेवालाई सरकारले प्राथमिकतामा राख ेपनि स्थानीय समुदायले अपनत्व ग्रहण नगर्दा सम्म सहज र प्रभावकारी सेवा प्रवाहमा चुनौती रही रहको बताए ।
सो अवसरमा उप–महानगरपालिकाका शाखा अधिकृत गणेश न्यौपाने, स्वास्थ्य स्वयंसेवीका संयोजक नारायणी रुपाखेतीले पनि शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी दिवस कै अवसरमा एक सय ६० जना बिरामी तथा बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको छ । भेरी अञ्चल अस्पताल, पोषण पुनःस्थापना केन्द्र र फुल्टेक्रास्थित निलसागर बृद्धाश्रममा रहेका बिरामी तथा बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको हो जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम बहादुर केसी, अञ्चल अस्पतालका मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठ, गेरुवाका टिम लिडर गणेश कार्की, कार्यक्रम अधिकृत बिद्यायक केसी लगायतले बिरामीहरुलाई फफुल बितरण गरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका पोषण कार्यक्रम फोकलपर्सन जागेश्वर बस्नेतले दिएको जानकारी अनुसार गेरुवा ग्रामीण जागरण संघ नेपालगञ्ज, प्लान इन्टरनेशनल, सेफ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, सुआहारा र बि–ग्रुपको समन्वयमा फलफुल बितरण गरिएको थियो ।