सदरलाइनडटकम
८ माघ, नेपालगन्ज : महोत्सवको नाममा सडक खनेर खाडल नबनाउन नेपालगन्ज उद्योग बाणिज्य संघलाई यहाँका नागरिक अगुवाहरुले आग्रह गरेका छन् । नेपालगन्जको सडक बाटो संरक्षणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघको ध्यानाकर्षण गराईएको छ ।
निर्माण नसकिदै खाल्डा—खुल्डीमा रुपान्तरण भएको सुर्खेतरोड सडकखण्ड खनेर नेपालगन्ज उद्योग बाणिज्य संघले व्यापार मेलाका लागि स्वागत गेट बनाउन थालेपछि संघको ध्यानाकर्षण गराईएको हो ।
विभिन्न प्रकारका मेला, सांस्कृतिक कार्यक्रम र राजनीतिक कार्यक्रमहरुमा स्वागत व्यानर लगाउने क्रममा सुर्खेत रोडको दायाबाया तर्फको सडक खनी खाल्डो पार्ने गरिएका कारणसडक विग्रने, कुरुप हुने गरेको उल्लेख गर्दै नेपालगन्जका ४ जना स्थानीय बासिन्दाहरुले नेपालगन्ज उद्योग बाणिज्य संघमा निबेदन दर्ता गर्दै संघको ध्यानाकर्षण गराएका हुन् ।
विभिन्न सार्वजनिक सरोकारको विषयमा निरन्तर रुपमा आवाज उठाउदै आईरहेका नेपालगन्ज उपमहानगरपालिका–१२ का नमस्कार शाह, वडानम्वर १० का लोकबहादुर शाह, वडानम्बर १२ अधिवक्ता विकास आचार्य र वडानम्बर २ निवासी अभिवक्ता सुदिप भट्टराईले सँघको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
निबेदकहरुले नेपालगन्ज उद्योग बाणिज्य संघले गर्न थालेको प्रादेशिक व्यापारिक मेलाका क्रममा व्यानर, गेट लगाउने प्रयोजनका लागि सडकबाटोमा कुनै पनि किसिमको खाल्डो नखनी, नखनाई सार्वजनिक सडकबाटोको संरक्षण सम्वद्र्धन गर्न अनुरोध गरेकाछन् । उनीहरुले सडकबाटोमा कुनै किसिमको खाल्डो खनिएको भए पूर्वअवस्थामा नै जस्ताको तस्तै निर्माण गर्न समेत अनुरोध गरेका छन् ।