केएल दुगडको नेपालगन्ज गोदाममा भिषण आगलागी, चार घण्टाको अथक प्रयासपछि नियन्त्रणमा (फोटो कथासमेत )

७ श्रावण २०७४, शनिबार २०:३१
 

सदरलाइनडटकम
७ साउन, नेपालगन्ज : नेपालगन्ज–१८ को भुजई गाउँमा रहेको केएल दुगड समुहको खाद्य गोदाममा शनिबार दिउसो भिषण आगलागि भएको छ । शनिबार दिउसो करिब पौने चार बजेदेखि सुरु भएको सो आगलागी साँझ पौने ८ बजेमात्र नियन्त्रणमा आएको थियो ।
नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, गुलरिया नगरपालिकाका दमकल आगलागि सुरु भएको घण्टा डेढ घण्टा भित्रै घटनास्थल पुगेको भए पनि नेपालगन्ज बिमानस्थलको दमकल भने झण्डै साढे ३ घण्टापछि मात्र घटनास्थलमा पुगेको थियो ।
सोयाबिन तेल, बनस्पति घिउ र गहुँ भण्डारण गरिएको सो गोदाममा तेल र घिउ राखेको गोदामबाट आगो सुरु भएको आगलागिमा परेर कुनै मानविय क्षति नभए पनि ठूलो मात्रामा भण्डारण गरेर राखिएको अवस्थामा स्वस्तिक बनस्पति घिउ, सोयाबिन तेल र गहु नष्ट भएको छ । आगो निभाउनको लागि ठूलो संख्यामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन भएका थिए ।
नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका र छिमेकी जिल्लाको गुलरिया नगरपालिकाको दमकल, स्थानीय प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीको अथक प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगो नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशाशन कार्यालय बाँके मार्फत गृह मन्त्रालयमा अनुरोध गरिएपछि नेपालगन्ज विमानस्थलको दमकल आएको थियो ।
घटनास्थलमा पुगेका केएल दुगड समुहका नेपालगन्ज प्रबन्धक प्रदीप छाजेडले आगलागीको कारण खुल्न नसकेको बताए । उनले भने–‘शनिबारको दिन भएकोले घरमै थिए एक्कासी गोदाममा आगलागी भएको खबर भयो यहाँ आउदा तेर र घिउ राखेको गोदाममा आगोको मुस्लो निस्कि रहेको थियो ।’ उनले कसरी आगो लाग्यो आफु अनविज्ञ रहेको बताउदै भने–‘ नियमित मालसामान आउने जाने गरिरहेको थियो के कति परिणाममा थियो भन्न सक्ने अवस्थामा छैन ।’ उनले क्षतिको यकिन पछि मात्र थाहा हुने बताए ।
दक्ष जनशक्तिको अभावको कारण आगो निभाउन घटनास्थलमा पुगेको कोहलपुर नगरपालिकको दमकलले आफैले बोकेर ल्याएको पानी खोल्न नजान्दा एक टेंकर पानी त्यतिकै खेर गएको थियो । गोदामदेखि करि ५ सय मिटरको दुरीमा रहेको होटल सिद्धार्थ भ्यूबाट पानी भर्ने व्यवस्था मिलाएको कारण पानी भर्नको लागि समय खेर नगएको भएपनि खाली पानीले मात्र तेल र घिउमा लागेको आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल मै रहेका बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
आगोलागिको जानकारी पाउने वित्तीकै आगो निभाउनको लागि घटनास्थलमा आएका नेपालगन्ज, गुलरिया र कोहलपुरको दमकलले हालेको पानीले आगोलाई नियन्त्रणमा लिनलाई अत्यन्त कठिन भएको छ । ‘पानी संगै आगो निभाउनको लागि ग्याँस समेत प्रयोग गर्न सके यस्तो खालको आगो नियन्त्रणमा लिन सहज हुने भए पनि यस क्षेत्रमा त्यस्तो खालको दमकलको अभाव भएकोले नियन्त्रणमा आउन कठिन भएको हो’–एस्पी राईले भने ।
यसैबीच नेपालगन्ज विमानस्थलमा रहेको ग्याँस सहितको दमकल गृहमन्त्रालयको पहलमा घटनाको झण्डै ३ घण्टापछि घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको छ । विमानस्थलमा जाहाजको सुरक्षाको लागि राखिएको सो दमकल जिल्ला प्रशाशन कार्यालय बाँके मार्फत गृहमन्त्रालयमा अनुरोध गरेपछि मात्र घटनास्थल पुग्न संभव भएको थियो ।
चार दमकलको सहयोगले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताउदै एस्पी राईले ग्याँस सहितको दमकलले तेल र घिउमा लागेको आगो निभाउन पहल गरि सकेको र अरु दमकलले अन्य ठाँउको आगो निभाउन लागेको बताए । उनले भने–‘ चारवटा दमकलको सहायताले अव केही समय भित्रै आगो नियन्त्रणमा लिन सकिन्छ ।’ घटनास्थलमा नेपालगन्ज–१८ का वडा अध्यक्ष दिपक बर्मा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीद्वय कृष्ण खड्का र जनक पन्त लगायतको उपस्थिति रहेको थियो । फोटो : रुद्र सुवेदी         


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनेरास्ववियु बाँकेद्वारा नियमित कक्षा सञ्चालनको माग राख्दै महेन्द्र बहुमखी क्याम्पसका तालाबन्दी

७ श्रावण २०७४, शनिबार २०:३१
सदरलाइन / स्मृती देबकोटा   ८ साउन, नेपालगन्ज : नियमित पठनपाठन नभएको भन्दै नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी आईतबारदेखि क्याम्पसमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका छन् । अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्लले लामो समयदेखि क्याम्पसमा शैक्षिक बाताबरण नभएको कारणले आन्दोलनमा उत्रिनु परेको बताए । उनीहरुले क्याम्पस प्रशासन, परीक्षा शाखा र लेखा शाखामा […]