सदरलाइन / रुद्र सुवेदी
२८ असार, नेपालगन्ज : बाँके राप्ती सोनारी गाउपालिका वडा नं ३ र ४ का नव निर्वाचित थारु समुदायका जनप्रतिनिधिहरुले थारु समुदायमा मात्र देखा परेको वशाणुगत रोग ‘सिकलसेल एनिमिया’ को बारेमा समुदायमा सचेतना फैलाउने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोगमा तथा सदरलाइन पब्लिकेशन प्रालिकोे आयोजनामा बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं. ३ र ४ का हालै निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई उनीहरु कै कार्य कक्षमा सिकलसेल एनिमिया रोगको बारेमा जानकारी दिने उद्देश्यले आयोजित अभिमुखिकरणमा सो प्रतिबद्धता जनाएका हुन ।
राप्ती सोनारी गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष कान्छा थारुले जनचेतनाको अभावको कारणले थारु समुदायमा मात्र देखापरेको सिकलसेल एनिमियाको उपचार नै नगरी समस्यामा पर्दै आएकोमा आफुले आफ्नो वडामा रहेका थारु समुदायमा जनचेतना फैलाउन पहल गर्ने बताए ।
यसैगरी राप्ती सोनारी गाउपालिका–३ का वडा अध्यक्ष गंगाराम चौधरीले कार्यालयमा सेवा लिन आउने थारु समुदायका व्यक्तिहरुलाई सिकलसेलको बारेमा सचेत गराउदै चेकजाँच गराउने सल्लाह दिएर पठाउने प्रतिबद्धता व्यक्त गरे ।
उनीहरुलाई सिकलसेल एनिमिया भनेको के हो ? यो रोग कस्तो अवस्थामा देखा पर्नेगर्छ, यसका लक्षण के के हुन ? किन थारु समुदायमा मात्र देखा परेको छ ? यसको राज्यले दिने निशुल्क उपचारको बारेमा अनुशिक्षण गराईएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन समेत रहेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले यहाँका थारु समुदाय कडा खालको औलोसंग प्रतिकार गरेको कारण उनीहरुमा यो रोग देखा परेको बताए । उनले सामान्य मानिसमा हुने रातो रक्तकोष गोलाकार आकारमा जसको आयु १२० दिन हुन्छ तर, यो रोग लागेकाहरुको रगतको रातोकोष हसिया आकारको साथै यसको आयु १० देखि २० दिन मात्र हुने साथै रक्त नलिमा रगतको प्रवाह रोकिदा कडा दुखाई हुने, कमलपित्त हुने, ईन्फेक्सन भई रहने जस्ता लक्षण देखा पर्ने गरेको बताए । सिकलसेल एनिमिया हुने व्यक्तिले स्वास्थ्य चौकी वा नजिकको अस्पताल गएमा निशुल्क औषधि उपचारको व्यवस्था राज्यले गरेको जानकारी दिए ।