दिनेश खड्का खप्तडी /सदरलाइन
२२ पुस, मलेसिया : तनहुँ व्यास–४ फराकचौरकी सेतो रक्तकोशिको रक्तअल्पताबाट ग्रसित आशा अधिकारीको उपचारका लागि संचालित आशा अधिकारी बचाउ अभियान मलेसियाबाट रकम संकलन गरी पीडितकहाँ पठाउन सुरु गरिएको छ ।
हालसम्म संकलन भएको रकम ४३ हजार ३ सय नौ रुपैया तनहुँका स्थानीय पत्रकार तथा दमौली एफएमका म्यानेजर पवन पौडेल मार्फत परिवारलाई उपलब्ध गराउने गरी पठाईएको छ ।
मलेसियामा रहेका तनहुँवासीको सक्रियतामा सो सहयोग रकम सँकलन गरिएको अभियानमा सक्रिय समाजसेवी रमेशप्रसाद आचार्यले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुक ग्रुपमार्फत थालिएको सहयोग संकलन अभियानमा मलेसिया रोजगारीमा रहेका नेपालीहरुले सहयोग प्रदान गरेका थिए । समाजसेवी आचार्य कै बैंक खातामा रकम सँकलन भएको थियो । उपचार सम्भव भए पनि महँगो भएका कारण आशाका परिवारले शुभेच्छुकहरुसँग सहयोग दिनका लागि गरेको आह्वान पछि अभियान सन्चालन भएको आचार्यले बताए ।
पीडित आशाका पिता राजेन्द्र अधिकारी हाल वैदेशिक रोजगारीका शिलशिलामा मलेसियामै छन् । नौ लाख खर्च भैसके पनि अझै २० लाख रुपैयाँ उनको उपचारका लागि आवश्यक पर्ने चिकित्सकको भनाइ छ । मलेसियामै कार्यरत उनका सहकर्मी तथा छिमेकी नेपालीहरुले थालेको सहयोग अभियान निरन्तर जारि रहने आचार्यले बताए ।