२०८३ कात्तिक १९ , बुधबार
Sadarline
२०८३ कात्तिक १९ , बुधबार

बालविवाह मुक्त समुदाय निर्माणका लागि मधुवन नगरपालिकाको हातेमालो



 

बर्दिया : प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजना अन्तरगत बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मधुवन नगरपालिकामासम्पन्न भएको छ ।

अन्तरक्रियाले बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको न्यूनीकरणका लागि संस्थागत सहकार्य, अनुभव आदानप्रदान र साझा प्रतिबद्धता सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो ।

कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले बाँके युनेस्को क्लबले समुदायस्तरमा सञ्चालन गर्दै आएका बाल संरक्षण सम्बन्धी पहलहरूको प्रशंसा गर्दै बालविवाह रोकथाम तथा जनचेतना अभिवृद्धि पुर्‍याएको सकारात्मक योगदानको सराहना गरिन ।

साथै, उनले किशोर किशोरी तथा भावनात्मक र मनोसामाजिक चुनौतीहरूको सामना गरिरहेका व्यक्तिहरूलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले मनोवैज्ञानिक परामर्श सेवा स्थापना गर्ने योजना रहेको जानकारी गराईन ।

त्यसैगरी, शिक्षा शाखा प्रमुखले बालविवाह अन्त्यका लागि नगरपालिका अन्तर्गतका विभिन्न शाखाहरू, गैरसरकारी संस्थाहरू तथा समुदायमा आधारित क्लबहरूबीच प्रभावकारी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेले विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई समुदायस्तरका जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थामा सेवा लिन आउने किशोरकिशोरीलाई सम्मानजनक र संवेदनशील व्यवहार गर्न तथा तथ्याङ्क र अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन आग्रह गरिन ।

विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले पनि बाँके युनेस्को क्लबका समुदायस्तरका पहलहरूमा सक्रिय साझेदारी गर्दै बाल संरक्षण प्रवर्द्धन र बालविवाह रोकथामका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा समुदायस्तरमा नियमित अनुगमन गर्ने, बालविवाहका घटनाहरूको समयमै पहिचान तथा जानकारी गराउने, परामर्श सेवालाई थप सुदृढ गर्ने र स्वास्थ्य संस्था भन्दा बाहिर गई परिवार तथा समुदायसम्म पुग्ने गरी संयुक्त जनचेतनामूलक अभियान सञ्चालन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, बाल संरक्षणका प्रयासहरूलाई दिगो र प्रभावकारी बनाउन निरन्तर समन्वय, संस्थागत जवाफदेहिता र सबै तहको सामूहिक सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकालियो ।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लब, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले गरेका थिए भने संरक्षण अधिकृत विजय शर्माले सहयोग गरेका थिए । कार्यक्रमको व्यवस्थापन तथा समन्वय फिल्ड सुपरभाइजरहरू मिनु थारु र दीक्षा बिष्टले गरेका थिए ।

 

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार
ताजा समाचार