
नेपालगञ्ज : बर्दियाका युवालाई परम्परागत रोजगारीको खोजीमा मात्र सीमित नराखी स्थानीय स्रोतसाधन र बजारको मागअनुसार उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको युवा सशक्तिकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन परियोजनाअन्तर्गत बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकामा कार्यक्रम आयोजना गरिएको हो । चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन गरिएको अभिमुखीकरणमा सयजना युवाको सहभागिता रहेको थियो ।
कार्यक्रममा युवालाई बजारमा उपलब्ध अवसरको पहिचान, सम्भावित व्यवसायको छनोट, उद्यम सञ्चालनका चुनौती तथा दिगो आम्दानीका उपायबारे जानकारी दिइएको थियो । सहभागीलाई बजारको माग नबुझी व्यवसाय सुरु गर्नुको सट्टा उपभोक्ताको आवश्यकता, स्थानीय स्रोतसाधन र आफ्नो क्षमताको मूल्याङ्कन गरेर व्यावसायिक योजना बनाउनुपर्ने विषयमा सहजीकरण गरिएको थियो ।
मधुवन नगरपालिकाका वडा नं. १ र २ तथा ठाकुरबाबा नगरपालिकाका वडा नं. ३, ४ र ५ का युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रत्येक सत्रमा २५ जनाका दरले सहभागी भएका थिए ।
परियोजनाका संयोजक राधेकृष्ण थारुले यत्ति–२ परियोजनाको उद्देश्य र कार्यपद्धतिबारे जानकारी दिँदै युवा उद्यमशीलता, रोजगारीका अवसर र आर्थिक आत्मनिर्भरता प्रवर्द्धनमा करियर परामर्शको महत्त्व स्पष्ट पारेको कार्यक्रमको सहजीकरण विनय दिल लामाले गरेका थिए ।
बजारको माग बुझेर व्यवसाय छनोट गर्न जोड
अभिमुखीकरणमा सहभागी युवालाई व्यवसाय सुरु गर्नुअघि बजारको सम्भाव्यता अध्ययन गर्ने, प्रतिस्पर्धाको अवस्था बुझ्ने, उपभोक्ताको रुचि पहिचान गर्ने र सम्भावित जोखिमको मूल्याङ्कन गर्ने विषयमा व्यावहारिक जानकारी दिइएको थियो ।
व्यवसाय सञ्चालनका लागि लगानी र स्रोतसाधन मात्र पर्याप्त नहुने भएकाले व्यक्तिगत रुचि, सीप, बजारको आवश्यकता र व्यवस्थापकीय क्षमतालाई समेत ध्यान दिनुपर्ने विषयमा छलफल गरिएको थियो । यसले युवालाई अरूले सञ्चालन गरेको व्यवसायको नक्कल गर्नुभन्दा आफ्नै अवस्था र सम्भावनाअनुसार उपयुक्त उद्यम छनोट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कृषि, पशुपालन तथा स्थानीय परिवेशअनुकूल उत्पादनमूलक र सेवामूलक व्यवसायका सम्भावनाबारे पनि जानकारी आदानप्रदान गरिएको थियो । स्थानीय स्तरमै उपलब्ध स्रोतसाधनको उपयोग गरेर आयआर्जनका अवसर सिर्जना गर्न सकिने विषयमा जोड दिइएको थियो ।
सहभागितामूलक कार्यक्रम दृश्याङ्कन विधि, मेटाकार्ड अभ्यास, अन्तरक्रियात्मक छलफल र समूहगत क्रियाकलापमार्फत सञ्चालन गरिएको अभिमुखीकरणमा युवाले आफ्ना विचार, अनुभव र सम्भावित व्यावसायिक योजनाबारे छलफल गर्ने अवसर पाएका थिए । सहभागीलाई आफ्ना व्यक्तिगत आकाङ्क्षा र भविष्यका योजनालाई उपलब्ध आर्थिक अवसरसँग जोडेर अघि बढ्न प्रेरित गरिएको थियो ।
दिगो उद्यम र वातावरणमैत्री अभ्यासमा जोड
कार्यक्रममा व्यवसायबाट आम्दानी गर्ने लक्ष्यसँगै त्यसको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्नुपर्ने विषयलाई पनि प्राथमिकता दिइएको थियो । वातावरणमैत्री व्यावसायिक अभ्यास, जलवायु उत्थानशीलता, स्रोतसाधनको दिगो उपयोग र प्रभावकारी जोखिम व्यवस्थापनबारे सहभागीलाई जानकारी गराइएको थियो ।
व्यवसाय सुरु गरेपछि त्यसलाई निरन्तरता दिन बजारसँगको सम्बन्ध विस्तार, उपभोक्ताको आवश्यकता बुझ्ने, सेवाको गुणस्तर कायम राख्ने तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन आवश्यक हुने विषयमा छलफल गरिएको थियो । यस्ता अभ्यासले व्यवसायलाई तत्कालको आम्दानीमा मात्र सीमित नराखी दीर्घकालीन जीविकोपार्जनको माध्यम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
युवाको आर्थिक आत्मनिर्भरता व्यक्तिगत आम्दानीमा वृद्धि गर्ने विषय मात्र नभई परिवारको जीविकोपार्जन सुधार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने आधारसमेत हो । स्थानीय सम्भावनामा आधारित उद्यमशीलताले रोजगारीका अवसर विस्तार गर्न र युवाको आर्थिक सहभागिता बढाउन सक्ने भएकाले करियर परामर्शलाई व्यावहारिक सीप तथा व्यावसायिक अवसरसँग जोड्नुपर्ने सन्देश कार्यक्रमले दिएको छ ।
करियर छनोटमा स्पष्टता आएको सहभागीको अनुभव
कार्यक्रममा सहभागी कल्पना थारुले अभिमुखीकरण उपयोगी, जानकारीमूलक र व्यावहारिक रहेको बताईन । उनका अनुसार आफ्नो रुचि, सीप, उपलब्ध स्रोतसाधन र बजारको सम्भावनाका आधारमा उपयुक्त व्यवसाय पहिचान तथा छनोट गर्ने विषयमा कार्यक्रमबाट महत्त्वपूर्ण जानकारी प्राप्त भएको छ ।
अभिमुखीकरणले आफ्नो भविष्यप्रतिको दृष्टिकोण स्पष्ट बनाउन र आर्थिक आत्मनिर्भरता हासिल गर्न दीर्घकालीन लक्ष्य निर्धारण गर्ने प्रेरणा दिएको उहाँले बताउनुभयो। तालिमबाट प्राप्त ज्ञानले आगामी दिनमा व्यावसायिक निर्णय लिन र उद्यमशीलताको यात्रालाई अघि बढाउन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरिन ।
कार्यक्रमले युवालाई करियर छनोटका क्रममा व्यक्तिगत रुचि र आकाङ्क्षासँगै बजारको वास्तविक अवस्था तथा उपलब्ध अवसरलाई पनि विचार गर्नुपर्ने सन्देश दिएको छ । सही सूचना, व्यावहारिक ज्ञान र आत्मविश्वासको विकासले युवालाई आफ्ना सम्भावना पहिचान गर्न र आर्थिक गतिविधिमा सक्रिय सहभागी बन्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
यत्ति–२ परियोजनामार्फत सञ्चालन गरिएको यस पहलले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सम्भावित उद्यमी र स्थानीय आर्थिक विकासका साझेदारका रूपमा अघि बढाउन खोजेको छ । युवाले सिकेको ज्ञानलाई व्यावहारिक योजनामा रूपान्तरण गरी व्यवसाय सञ्चालन गर्न सकेमा यसले उनीहरूको व्यक्तिगत तथा पारिवारिक आर्थिक अवस्थामा सुधार ल्याउन योगदान पुर्याउन सक्छ ।
यद्यपि अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई दिगो उपलब्धिमा रूपान्तरण गर्न व्यवसायसम्बन्धी थप परामर्श, सीप विकास, वित्तीय पहुँच, बजारसँगको सम्बन्ध र आवश्यक अनुगमनजस्ता पक्ष पनि महत्त्वपूर्ण हुनेछन । युवाले पहिचान गरेका व्यावसायिक सम्भावनालाई वास्तविक उद्यममा परिणत गर्न यस्ता अवसरको निरन्तरता उपयोगी हुने देखिन्छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा कार्यान्वयन गरिरहेको यत्ति–२ परियोजनाले युवा सशक्तिकरण, नवप्रवर्तन, रोजगारीका अवसरको खोजी र उद्यमशीलता प्रवर्द्धनलाई लक्षित गरेको छ । मधुवन र ठाकुरबाबामा सञ्चालित करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण कार्यक्रमलाई युवामा व्यावसायिक सोच विकास गर्ने र आत्मनिर्भर भविष्य निर्माणका लागि सम्भावनाको खोजी गर्ने प्रयासका रूपमा लिइएको छ ।












प्रतिक्रिया दिनुहोस्