
बाजुरा : बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हिमपातपछि फसेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अर्का एकको अवस्था अझै अज्ञात रहेको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको उद्धार गरिएको हो ।
कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा रहेका थिए ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्याइएको बताए । उनकाअनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
यस्तै, बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर त्यस क्षेत्रमा जाने भएको छ ।
यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन् ।











प्रतिक्रिया दिनुहोस्