
राजापुर (बर्दिया) : बर्दियाको राजापुर नगरपालिकाले मानव बेचबिखनको जोखिममा रहेका व्यक्ति तथा परिवारको पहिचान गरी उनीहरूको संरक्षण र सुरक्षाका तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबद्वारा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत बेचबिखनको जोखिममा रहेका व्यक्ति तथा परिवारको पहिचान गरी उनीहरूको संरक्षण र सुरक्षाका तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने भएको हो ।
नगरपालिकामा बसेको मानव बेचबिखन नियन्त्रणसम्बन्धी स्थानीय समितिको बैठकले जोखिममा रहेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा परिवारको अवस्था पहिचान गरी आवश्यकतामा आधारित रोकथामका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा बसेको बैठकले मानव बेचबिखन नियन्त्रणसम्बन्धी स्थानीय नीति, २०८३ को मस्यौदा स्वीकृतिका लागि नगर कार्यपालिकामा पेस गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले परियोजनाको हालसम्मको प्रगति, उपलब्धि तथा सञ्चालन भइरहेका गतिविधिहरूबारे प्रस्तुतीकरण गरेका थिए ।
बैठकमा स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वय र सहकार्य प्रभावकारी बनाउँदै जोखिममा रहेका समुदायको समयमै पहिचान, संरक्षण तथा मानव बेचबिखन नियन्त्रणका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिइएको थियो ।
बैठकमा नगर उपप्रमुख मंकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाई, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी, बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर प्रमिशा थारूलगायत समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्