समाचार सारांश
- बाँकेमा सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै विपद् पूर्वतयारी तीव्र पारिएको छ।
- असोज ८ देखि १२ गतेसम्मका लागि जिल्लाका आठै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
- सुरक्षा निकायलाई हाई अलर्टमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ।

नेपालगञ्ज : मौसम पूर्वानुमान महाशाखाको सम्भावित अति भारी वर्षाको सूचनालाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारीलाई तिव्र पारिएको छ ।
मौसम पुर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भीषण वर्षाको पूर्वानुमान गरेपछि सो विपदबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्नको लागि सोहि अनुसार तयारी तिव्र पारिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक दिलकुमार तामाङ्गका अनुसार जिल्लाका आठै स्थानीय तहमा असोज ८–१२ लाई संवेदनशिल रुपमा लिएर पूर्वतयारी गर्न आग्रह गरिएको छ ।
यस्तै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिनुको साथै आवश्यक तयारी गरिएको छ । बाँकेको राप्ती नदी, मान नदी डुडुवालगायतका नदी तटमा रहेका जनतालाई बादी जन्यविपदको पूर्वसूचना प्रवाह गरि उच्च सतर्कता अपनाउन भनिएको छ ।
संभावित बिपदलाई मध्येनजर गरेर आवश्यक जनशक्ति र सामाग्री तयारी अवस्थामा राख्न निर्देशन गरिएको प्रजिअ तामाङ्गले जानकारी दिए ।


