समाचार सारांश
- लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले बुधबार जिम्मेवारी सम्हालेका छन्।
- जिम्मेवारीपछि मन्त्रालयका सचिव तथा कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरी प्रदेशको प्रशासनिक अवस्था र प्राथमिकताबारे जानकारी लिएका छन्।
- प्रमुख सचिव कुँवरले शासकीय सुधार, कर्मचारीको उच्च मनोबल र सामूहिक सहकार्यबाट प्रदेश सरकारका काममा प्रभावकारी परिणाम ल्याउनुपर्ने बताएका छन्।

दाङ : लुम्बिनी प्रदेशमा पदस्थापना भयर आएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा भएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन ।
जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीहरूसँग परिचयात्मक कार्यक्रम गरिएको थियो । परिचयात्मक कार्यक्रम पश्चात् मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीलगायतसंग प्रमुख सचिव कुँवरले भेट गरेका थिए ।
परिचयात्मक कार्यक्रममा प्रदेश सचिव निता पोखरेल अर्यालले लुम्बिनी प्रदेशको समग्र अवस्था, प्रशासनिक संरचना, जनशक्तिको अवस्था तथा प्रदेश सरकारका प्राथमिकताबारे जानकारी गराएकी थिईन ।
कार्यक्रममा प्रमुख सचिव कुँवरले शासन प्रणालीमा सुधार गर्दै नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत परिणाम दिन सकिने बताए । ‘साशकीय सुधारको नीति लिएर काम गर्दा परिणाम दिन सकिन्छ,’ उनले भने, ‘प्रदेशले संविधानले दिएको अधिकारअनुसार आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्छ ।’
उनले प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन सामूहिकतामा काम गर्ने अभ्यास आवश्यक रहेको र त्यसमा आफूले जोड दिने स्पष्ट पारे ।
कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रमुख सचिव कुँवरले कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । ‘म सहकार्यमा विश्वास गर्छु । सबै मिलेर काम गर्दा मात्रै परिणाम दिन सकिन्छ,’ उनले भने ।



