समाचार सारांश
- रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको पहिचानका लागि भेरी अस्पतालमा १६ जनाको डिएनए नमूना संकलन गरिएको छ।
- प्रहरीको सहकार्यमा संकलित नमूना परीक्षणका लागि शनिबार नै काठमाडौं पठाइएको छ।
- बाढीपछि बाँकेका २९ जना सम्पर्कविहीन भएकामा दुई जनाको शव फेला परेको र २७ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

नेपालगञ्ज : रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचानका लागि बाँकेमा आफन्तको डिएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको छ ।
नेपालगञ्जको भेरी अस्पतालमा शनिबार १६ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अरविन शाक्यले जानकारी दिए ।
प्रहरीसँगको सहकार्यमा नमूना संकलनको काम भइरहेको उनले जानकारी दिए । संकलन गरिएका नमूना शनिबार नै काठमाडौं पठाइएको छ ।
बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि उनीहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको बाँकेका प्रहरी प्रमुख (एसपी) अंगुर जिसीले जानकारी दिए ।
डिएनए परीक्षणका लागि नमूना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ताका आफन्तहरू रहेको पनि एसपी जिसीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बाँकेका २९ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये कोहलपुरका दुई जनाको शव फेला परेको छ भने अझै २७ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

