लुम्बिनी प्रदेश सरकारले बाँकेमा बनायो १५ पुल

सदरलाइन संवाददाता २० भाद्र २०८३, शनिबार १९:१७
 
समाचार सारांश
Generated Using AI
  • बाँकेका दुर्गम तथा खोलानाला भएका क्षेत्रमा पुल निर्माणलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले यातायात पहुँच विस्तारमा जोड दिएको छ।
  • सङ्घीयता कार्यान्वयनपछि सम्पन्न १५ पुलले स्थानीय बस्ती, बजार तथा सेवाकेन्द्रबीचको आवागमन सहज बनाउँदै दैनिक जनजीवनमा प्रत्यक्ष सुविधा थपेको छ।
  • अझै दुई पुल निर्माणाधीन र दुई पुल ठेक्का प्रक्रियामा रहेकाले बाँकेमा सडक सञ्जाल विस्तारसँगै पुल पूर्वाधार थपिने भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले बाँकेमा पुल निर्माणलाई प्राथमिकता दिँदै ग्रामीण तथा खोलानालाले यातायातमा अवरोध सिर्जना गर्ने क्षेत्रको पहुँच विस्तार गरेको छ । सङ्घीयता कार्यान्वयनपछि बाँकेमा प्रदेश सरकारअन्तर्गत १५ वटा पुल निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाको दैनिक आवागमन सहज भएको हो ।

सडक सञ्जाल विस्तार भए पनि खोलामा पुल नहुँदा वा भएको पुल जिर्णहुँदा वर्षायाममा आवतजावत प्रभावित हुने समस्या बाँकेका विभिन्न क्षेत्रमा रहँदै आएको थियो । पुल निर्माणपछि त्यस्ता स्थानमा वर्षभरि यातायात सञ्चालन गर्न सहज भएको प्रदेश सरकारको भनाइ छ । पुलले स्थानीय बस्तीलाई मुख्य सडक, बजार तथा सेवा केन्द्रसँग जोड्नसमेत सहयोग पुगेको छ ।

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख चन्द्रबहादुर शाहका अनुसार प्रदेश सरकारले स्थानीय आवश्यकता र मागका आधारमा पुल निर्माणलाई प्राथमिकता दिएको हो । उनका अनुसार निर्माण सम्पन्न भएका पुलबाट हजारौँ स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ पाएका छन् ।

प्रदेश सरकारले बाँकेमा १५ वटा पुल निर्माण सम्पन्न गरिसकेको छ भने दुई वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । बैजनाथ गाउँपालिका–६ स्थित जेठी नाला र कोहलपुर नगरपालिका–१३ स्थित गेरुवा खोलामा पक्की पुल निर्माण भइरहेको कार्यालयले जनाएको छ । थप दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वानसमेत भइसकेको छ ।

कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला, गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलालगायतका स्थानमा पुल निर्माण सम्पन्न भएका छन् । किरण नालाअन्तर्गत खजुरा–२, सिगाउँ, खजुरा–४, चल्तुवा, सिर्जनाटोल तथा साईगाउँमा पक्की पुल निर्माण गरिएको छ ।

यद्यपि केही पुल निर्माणमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समय लागेको कार्यालयले जनाएको छ । सिर्जनाटोल र साईगाउँका पुल निर्माणमा अपेक्षित गति नआउँदा निर्माण सम्पन्न हुन ढिलाइ भएको बताइएको छ ।

जेठी नालाअन्तर्गत चार वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने एचगाउँमा नयाँ पक्की पुल निर्माण भइरहेको छ । यसले स्थानीय सडकलाई थप व्यवस्थित बनाउँदै ग्रामीण बस्तीबाट बजार तथा मुख्य सडकसम्मको पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले सङ्घीयता कार्यान्वयनपछि लुम्बिनी प्रदेशमा पुल निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभएको छ। पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा सहजता हुनुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने उनको भनाइ छ ।

प्रदेश सरकारले पुलसँगै सडक निर्माणलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । सडक र पुललाई एकीकृत रूपमा विस्तार गर्दा ग्रामीण क्षेत्रको यातायात पहुँच बढ्ने, उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने र शिक्षा, स्वास्थ्य तथा अन्य सार्वजनिक सेवामा नागरिकको पहुँच सुधार हुने अपेक्षा गरिएको छ ।

बाँकेमा निर्माण भएका पुललाई केवल यातायात पूर्वाधारका रूपमा मात्र नभई स्थानीय बस्तीलाई सेवा, बजार र आर्थिक अवसरसँग जोड्ने आधारका रूपमा हेरिएको छ। बाँकी निर्माणाधीन तथा प्रस्तावित पुलसमेत समयमै सम्पन्न भएमा जिल्लाका थप ग्रामीण क्षेत्रको यातायात पहुँच विस्तार हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित