समाचार सारांश
- राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
- परीक्षा नियन्त्रण कार्यालयका अनुसार हाल ३५ कर्मचारी टेबुलेसन कार्यमा खटिएका छन् भने उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण अन्तिम चरणमा पुगेको छ
- गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा गत वर्ष नियमित र स्तरवृद्धितर्फ गरी पाँच लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

काठमाडौ : परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिकको अन्तिम तयारीमा जुटेको छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको सो परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ ।
‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ ।
गत वर्ष नियमित र स्तरवृद्धितर्फ गरी पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

