नेपालगञ्जमा आवास बिमाको पहिलो दाबी भुक्तानी हस्तान्तरण

सदरलाइन संवाददाता २३ बैशाख २०८३, बुधबार १८:२९
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिकामा लागू गरिएको आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो पटक बिमा दाबी भुक्तानी गरिएको छ, जसमा उत्तमसिंह पंजाबीले २ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे।
  • अविरल वर्षाले घर क्षति भएपछि पाएको बिमा रकमले प्रभावित परिवारलाई राहत पुगेको भन्दै कार्यक्रमलाई विपद् व्यवस्थापनको महत्वपूर्ण उपलब्धि भनिएको छ।
  • हालसम्म १८४ घर बिमा गरिसकिएको छ र कार्यक्रम अन्य वडासहित नरैनापुर, कोहलपुर र खजुरामा पनि विस्तार गर्ने तयारी भइरहेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकामा लागू गरिएको आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो बिमा दाबी भुक्तानी हस्तान्तरण गरिएको छ ।

देशमै पहिलो पटक आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो बिमा दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । पहिलो लाभग्राहीका रूपमा नेपालगञ्ज–७ गगनगञ्जस्थित पिपलचौताराका उत्तमसिंह पंजाबीलाई नगर प्रमुख प्रशान्त विष्टले बिमा रकम हस्तान्तरण गरे ।

उनलाई बिमा बापतको दुई लाख ३२ हजार ९ सयरुपियाँको चेक हस्तान्तरण गरिएको हो । त्यसअघि राष्ट्रिय बीमा कम्पनी नेपालगञ्ज शाखाका प्रमुख नवीन पौडेलले सो चेक नगर प्रमुख विष्टलाई हस्तान्तरण गरका हुन ।

गत भदौमा अविरल वर्षाका कारण पंजाबीको माटोको पुरानो घर भत्किएको थियो । बिमा रकम प्राप्त भएपछि परिवारले खुसी व्यक्त गर्दै घरबारविहीन हुने त्रास हटेको प्रतिक्रिया दिए ।

नगर प्रमुख विष्टले आवास बिमा कार्यक्रमलाई विपद् व्यवस्थापनको महत्वपूर्ण उपलब्धि भएको बताए । ‘विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन, तर त्यसको असर कम गर्न हामीले पूर्वतयारी गर्न सक्छौं। आवास बिमा कार्यक्रमले विपद् प्रभावित परिवारलाई तत्काल राहत दिने काम गरेको छ,’ उनले भने ।


उनले आगामी दिनमा कार्यक्रमलाई विस्तार गरी सबै वडाका जोखिमयुक्त घरधुरीलाई समेटिने बताए । विपद्जन्य घटनाबाट घरमा क्षति भएमा क्षतिपूर्तिमा सहजता ल्याउन नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा आवास बिमा कार्यक्रम लागू गरेको छ ।

राष्ट्रिय बिमा कम्पनीमार्फत हालसम्म १ सय ८४ परिवारका जोखिमयुक्त घरको बीमा गरिएको विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले प्रिमियम आफैं तिरेर नागरिकलाई बीमामा सहभागी गराएको हो । क्षति मूल्यांकनपछि अधिकतम १५ लाख रुपैयाँसम्मको बीमा कभर हुने व्यवस्था छ ।

हाल वडा नम्बर ८ र ११ मा पनि कार्यक्रम विस्तार गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । उनका अनुसार नेपालगञ्जको यो कार्यक्रम नरैनापुर, कोहलपुर र खजुरा गाउँपालिकाले पनि यसै आर्थिक वर्षदेखि लागू गर्ने तयारी गरेका छन् ।

सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार विपद् पूर्वतयारी र व्यवस्थापनका लागि ‘सुपर’ कार्यक्रमले प्राविधिक सहकार्य गरिरहेको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी तथा सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमले विपद् पूर्वतयारी र प्रतिकार्यमा सहयोग पु¥याइरहेको छ । नगरपालिकाले कार्यक्रमले समन्वय, सहकार्य र सहजीकरणमा महत्त्वपूर्ण टेवा पु¥याइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निकुञ्ज आसपासका मध्यवर्तीबस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कृत्रिम गन्धको प्रयोग

२३ बैशाख २०८३, बुधबार १८:२९
समाचार सारांश Generated Using AI नेपालगञ्ज उपमहानगरपालिकामा लागू गरिएको आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो पटक बिमा दाबी भुक्तानी गरिएको छ, जसमा उत्तमसिंह पंजाबीले २ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे।अविरल वर्षाले घर क्षति भएपछि पाएको बिमा रकमले प्रभावित परिवारलाई राहत पुगेको भन्दै कार्यक्रमलाई विपद् व्यवस्थापनको महत्वपूर्ण उपलब्धि भनिएको छ।हालसम्म १८४ घर […]