समाचार सारांश
- राष्ट्रिय परीक्षा बोर्ड अनुसार बाँकेबाट १२ कक्षाको परीक्षामा करिब ९,९०४ विद्यार्थी सहभागी हुँदैछन्, जसमा २७ बालबिज्याइँकर्ता पनि समावेश छन्।
- नियमिततर्फ ७,१२४ र आंशिकतर्फ २,७८० विद्यार्थी रहेका छन् भने १३ जना अपाङ्गता भएका विद्यार्थीका लागि लेखन सहयोगीको व्यवस्था गरिएको छ।
- जिल्लाका १०७ विद्यालयबाट सहभागी विद्यार्थीका लागि २६ परीक्षा केन्द्र निर्धारण गरी सम्पूर्ण तयारी पूरा भएको छ।

नेपालगञ्ज : सोमबारदेखि सुरु हुन लागेको १२ कक्षाको परीक्षामा बाँके जिल्लाबाट परीक्षामा करिव १० हजार सहभागी हुने भएका छन् । यसमा २७ बालबिज्याइँकर्ता पनि समावेश छन ।
राष्ट्रिय परीक्षा बोर्ड, कोहलपुर कार्यालयका प्रमुख प्रकाश शाहीका अनुसार २०८३ सालको १२ कक्षाको परीक्षामा बाँकेबाट दुई बालसुधार गृहमा रहेका २७ बालबिज्याइँकर्तासहित कुल नौ हजार ९ सय ४ जना परीक्षार्थी सहभागी हुने छन् ।
उनका अनुसार बैजनाथ गाउँपालिका–३, गाभरस्थित नौबस्ता बालसुधार गृहका १२ जना र डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहका १५ जना गरी २७ बालबिज्याइँकर्ताहरू परीक्षामा सहभागी हुन लागेका हुन् ।
कुल परीक्षार्थीमध्ये सात हजार १ सय २४ जना नियमिततर्फका र दुई हजार ७ सय ८० जना आंशिक (ग्रेडवृद्धि)तर्फका विद्यार्थी रहेका छन् ।

शाहीका अनुसार १३ जना परीक्षार्थीका लागि लेखन सहयोगीमार्फत परीक्षा दिने व्यवस्था गरिएको छ । तीमध्ये सात जना दृष्टिविहीन, चार जना शारीरिक बहुअपाङ्गता भएका र दुई जना दुर्घटनामा घाइते भएका विद्यार्थी रहेका छन् ।
१२ कक्षाको परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको कार्यालयले जनाएको छ । परीक्षाका लागि आवश्यक कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापन गरी सकिएको छ ।
उनले भने–‘परीक्षा केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गरी सकिएको छ । उत्तरपुस्तिका सबै केन्द्रमा पुगिसकेको छ र प्रवेशपत्र वितरणसमेत सम्पन्न भइसकेको छ । परीक्षा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबै तयारी पूरा भएको छ ।’
बाँकेका १ सय ७ विद्यालयका विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । जिल्लामा कुल २६ परीक्षा केन्द्र तोकिएका छन् ।
राप्तिसोनारी गाउँपालिकामा एक, बैजनाथ गाउँपालिकामा दुई, खजुरा गाउँपालिकामा दुई, कोहलपुर नगरपालिकामा आठ र नेपालगञ्ज उपमहानगरपालिकामा १३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।


