समाचार सारांश
- भारतको Kolkata मा हिन्दीको पहिलो पत्रिका ‘उदन्त मार्तण्ड’ को २०० वर्ष पूरा भएको अवसरमा ३० मे २०२६ मा विशेष कार्यक्रम आयोजना हुँदैछ।
- SAARC Journalists Forum भारत च्याप्टरद्वारा आयोजित कार्यक्रममा पत्रिकाको ऐतिहासिक यात्रा र Pandit Yugal Kishore Shukla स्मृति पुरस्कारबारे छलफल हुनेछ।
- १८२६ मा सुरु भएको ‘उदन्त मार्तण्ड’ ले हिन्दी पत्रकारिताको आधार राख्दै भारतीय मिडिया इतिहासमा महत्वपूर्ण योगदान दिएको मानिन्छ।

नेपालगञ्ज : भारतमा हिन्दी भाषाको पहिलो पत्रिका ‘उदन्त मार्तण्ड’ (उदाउदो सूर्य) पत्रिकाकोे प्रकाशनको २ सय वर्ष पुगेको अवसरमा भारतको कोलकातामा एक दिवशीय कार्यक्रमको आयोजना गरिने भएको छ ।
सार्क पत्रकार मञ्च भारत च्याप्टरको आयोजनामा भारतको कलकत्तामा हुने सो कार्यक्रम आगामी जेठ महिनाको १६ गते अर्थात ३० मे २०२६ का दिन आयोजना गर्ने भएको छ ।
कार्यक्रममा केवल उदन्त मार्तण्ड पत्रिकाको २ सयवर्षको यात्रा र यसका संस्थापक सम्पादक पण्डित युगल किशोर शुक्लास्मृति पुरस्कारको बारेमा छलफल हुने सार्क पत्रकार मञ्च भारत च्याप्टरका अध्यक्ष डा. अनुरुध कुमार शुधान्सुले जानकारी दिए ।
उदन्त मार्तण्ड (द राइजिङ सन) को यात्रा हिन्दी पत्रकारिताको जग हो । मे ३०, १८२६ मा कलकत्ता (अहिले कोलकाता) बाट सुरु भएको यो पत्रिकाले २०२६ मा हिन्दी प्रेसको २०० वर्ष पूरा भएको अवसरमा भारतीय मिडिया परिदृश्यमा ऐतिहासिक परिवर्तनको प्रतिनिधित्व गरेको विश्वास गरिन्छ ।
मे ३०, १८२६ उदन्त मार्तण्ड (द राइजिङ सन) साप्ताहिकका संस्थापक पण्डित युगल किशोर शुक्लाले त्यतीबेला अंग्रेजी र बंगाली मिडिया बढ्दै जाँदा, हिन्दी भाषी जनसंख्याको कुनै आवाज नभएको महशुस गरी यसको प्रकाशन कलकत्ताबाट गरेका थिए ।
शुक्ला आफु मूल रूपमा कानपुरका निवासी र पेशाले वकिल थिए । उनले प्रकाशन गर्न थालेको हिन्दी भाषाको पत्रिका ‘उदन्त मार्तण्ड’ जसको अर्थः ‘उदन्त’ भन्नाले समाचार वा रिपोर्ट हो, र ‘मार्तण्ड’ को अर्थ सूर्य हो । प्रतीकात्मक रूपमा, यो हिन्दी भाषाको ‘समाचारको सूर्य’ बनाउने उद्देश्यले सुरु गरिएको थियो ।

यो हरेक मंगलबार प्रकाशित हुने साप्ताहिक पत्रिका थियो । यो पत्रिकाले आफनो ७९ आंकमात्र प्रकाशि हुन सफल भएको छ । मे ३०, १८२६ मा पहिलो अंक प्रकाशित भएको यो पत्रिका ४ डिसेम्बर १८२७ मा बन्द भएको थियो ।
यो पत्रिका लगभग ७९ अंक मात्र टिक्यो । डिसेम्बर ४, १८२७ मा यसको अन्तिम संस्करणमा, पण्डित जुगल किशोर शुक्लाले आफ्नो दुःख व्यक्त गर्दै एक प्रसिद्ध र मार्मिक दोहोरी लेखेका थिए । ‘उदन्त मार्तण्ड होये अस्त अब’ जसको अर्थ थियो (समाचारको सूर्य अब अस्ताउँदैछ) । उनले जनता र सरकारको ‘उदासीनको अन्धकार’ ले सूर्यलाई समयपूर्व अस्ताउन बाध्य पारेको उल्लेख गरे ।
सार्क पत्रकार मञ्च भारत च्याप्टरका अध्यक्ष डा अनुरुधले एक मिडिया पेशेवर र सार्क पत्रकार मञ्चका नेताको रूपमा, उदन्त मार्तण्डको कथाले पत्रकारितामा आवश्यक पर्ने लचिलोपनको सम्झना गराउँने दाबी गर्दै यसलाई पुनर्जीवित गराउनु पर्न विचारले कार्याक्रमको आयोजना गरिएको बताए ।
उनले भने–‘क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्न सार्क पत्रकार मञ्चसँगको हाम्रो काम जस्तै, पंडित जुगल किशोर शुक्लाले गम्भीर आर्थिक र राजनीतिक अवरोधहरूको सामना गर्नु परे पनि छापिएको शब्दको शक्ति मार्फत विविध जनसंख्यालाई एकताबद्ध गर्ने लक्ष्य थियो । ’
सो कार्यक्रममा सार्क पत्रकार मञ्चमा आबद्ध सार्क मुलुकका पत्रकारहरूको सहभागिता हुने र पण्डित युगल किशोर शुक्लको भारतीय पत्रकारिताको विकासमा दिएको योगदानको बारेमा चर्चा गरिने सार्क पत्रकार मञ्चका महाचिव एमडी अब्दुर रहमानले बताए ।
उनले सो अवसरमा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा स्थापना गरिएको पण्डित युगल किशोर शुक्ल सम्मान २०२६ को लागि सार्क क्षेत्रका पत्रकारहरुद्वारा आवेदन पनि खुला गरिएको जानकारी दिए ।


