
नेपालगञ्ज : खुला सिमाना, चोरी पैठारीको समस्याका बाबजुद नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएको छ ।
जनवरी २६ का दिन ७४ औ विश्व भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा सो जनाकारी दिईएको हो । यो वार्षिक लक्षको ४१ प्रतिशत र मासिक लक्षको ८० प्रतिशत हो ।
नेपालगञ्ज भन्सार कार्यालयले भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले भन्सार कार्यालयले राजश्व उठाउनेमात्र नभएर अन्तराष्टिय वजारलाई व्यवस्थित बनाउने कुरामा जोड दिए ।
खुला सिमा र बढ्दो चोरी पैठारीको चुनौतिका बिचमा पनि लक्षको समिप रहेर भन्सार राजश्व उठाउन सफल भएको प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए ।

उनले भने–‘ चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएका छौ ।’ उनले नेपालबाट उत्पादीत बस्तुमा प्लाईउड भएको र जडिबुटी पैठारी हुने गरेको बताए ।
यसैगरी नेपालगञ्ज भन्सार हुदै चामल, पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी सामान लगायतका बस्तुहरु आयात हुनेगरेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।
भन्सार दिवसको अवसरमा निर्याततर्फ सबैभन्दा बढि निर्यात गर्ने गंगा रोजिन एण्ड टर्पेनटाईन, आयततर्फ नेपाल आयल निगम, जय अम्बे स्टिल उद्योग र देवती गुटखा उद्योगलाई सम्मान गरिएको छ ।
भन्सार दिवसको अवसरमा भन्सार चोरी पैठारी बिरुद्ध सडक नाटक, रिक्सा अटो चालकलाईं सचेतनामुलक अभिमुखिकरण तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका सहभागिलाई प्रमाण पत्र पुरस्कार वितरण गरिएको थियो ।



