निकुञ्ज क्षेत्रमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व रोक्न आवश्यक पहल गर्न आग्रह

सदरलाइन संवाददाता २५ पुष २०८२, शुक्रबार १९:११
 

नेपालगञ्ज :  पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्वका घटना बढदै गएको प्रति नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणका घटना बढ्दै जाँदा मानव जीवन असुरक्षित बन्दै गएको भन्दै क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कडेललाई शुक्रबार (आज) छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन ।

बाघको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग कांग्रेसले माग गरेको छ ।

गत शनिबार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनाप्रति कांग्रेस क्षेत्रले दुःख व्यक्त पनि गरेको छ ।

पछिल्लो समय बाघको आक्रमणका कारण निर्दोष नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको उल्लेख गर्दै यसलाई अत्यन्तै दुःखद, चिन्ताजनक र मानव सुरक्षाको दृष्टिकोणले गम्भीर विषय भएको बताइएको छ ।


यस्ता घटनाले स्थानीय समुदाय त्रसित बनेको र जनजीवन असुरक्षित हुँदै गएको पार्टीले उल्लेख गरेको छ। बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिन, जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न कांग्रेस क्षेत्र नम्बर १ ले आग्रह गरेको छ ।

साथै स्वर्गिय भण्डारीको परिवारलाई प्रचलित कानुनअनुसार तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन व्यवस्थापन योजना लागू गर्न, निकुञ्ज आसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित र निर्भीक रूपमा बाँच्न सक्ने वातावरण सुनिश्चित गर्न पनि पार्टीले जोड दिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउँँदै सभापति केसीले अहिले पनि बाघ कुसुम क्षेत्रमा देखा परिरहेकाले नियन्त्रणमा लिन तत्काल पहल थाल्न आग्रह गरे । ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रजिअ तामाङ र प्रमुख संरक्षण अधिकृत कडेलले आफुहरुले यसबारेमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा

२५ पुष २०८२, शुक्रबार १९:११
कोहलपुर (बाँके)  :  कोहलपुर नगरपालिकाको उन्नाइसौं नगरसभाको अन्त्य भएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले चालू आर्थिक वर्षको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । नगरसभामा प्रस्तूत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित भएको छ । यसैगरी नगरसभाबाट घर नक्सा पास अभिलेखिकरण असार मसान्तसम्म खुल्ला गर्ने निर्णय […]