
नेपालगञ्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँके युनेस्को क्लबले आफ्नो ३६औँ साधारणसभा तथा स्थापना दिवस शनिबार औपचारिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
क्लबका अध्यक्ष रविकुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य हरिबंश किराँतले गरेका हुन । उनले बाँके युनेस्को क्लवले आफ्नो स्थापनादेखि हालसम्म विभिन्न आरोह अबरोह पार गर्दै सामाजिक क्षेत्रमा आफ्नो पहिचान अडिक राख्न सकेको भन्दै प्रशंसा समेत गरे ।
क्लवले बाँके र बर्दियामा विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुरक्षा र मानवताको क्षेत्रमा बिभिन्न गतिविधि सञ्चालन गर्दै आएको क्लवका प्रमुख संरक्षक प्रवेजअलि सिद्दिकीले जानकारी दिए ।

क्लवका कार्यकारी निर्देशक गोविन्द लामिछानेले क्लवले वर्षभरी गरेको कार्य प्रगति विबरण प्रस्तुत गरेका थिए । क्लवले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रलाई विपदको बेलामा सेवा प्रवाह गर्नको लागि स्थानीय तहसँग सहकार्यमा विभिन्न बैठक गर्ने, धरधुरी तथ्याङ्क अभिलेखिकरण गर्ने, सुरक्षित आश्रयस्थलको खोजी गरी व्यवस्थापन गर्ने जस्ता कार्य गर्दैआएको वित्तिय प्रमुम बेद पांगालीले जानकारी दिए ।
सो अवसरमा गैसस महासंघ केन्द्रीय सचिव नमस्कार शाह, गुुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, मधुवन नगरपालिका बार्दियाका उपप्रमुख अनिता चौधरीलगायतको उपस्थिति रहेको थियो ।


