‘हाम्रो नेपालगञ्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याईयो

सदरलाइन संवाददाता १७ असार २०८१, आईतवार १९:२९
 

 

नेपालगञ्ज :  स्थानीय रहन सहन र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले ‘हाम्रो नेपालगञ्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी निर्माण गरिएको पाठ्यक्रम चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइएको जनाईएको छ ।

सो पाठ्यक्रमा नेपालगञ्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, वातावरण, धार्मिकस्थल, गौरवमय स्तम्भलगायत विषयवस्तु पाठ्यक्रममा समेटिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय आवश्यकता र प्राथमिकताका विषयका बारेमा बालबालिकाको क्षमता विकास गर्ने, कला, संस्कृतिको संरक्षण र हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको हो ।


पाठ्यक्रममा नेपालगञ्जमा रहेका विभिन्न स्थान, रहनसहन, पर्यटकीय गन्तव्य, कला, संस्कृतिलगायत विभिन्न विषय छनोट गरिएको छ ।

स्थानीय विषयको ज्ञान प्रदान गर्न र संस्कृति संरक्षणमा यो पाठ्यक्रमले मद्दत पु¥याउने शाखा अधिकृत शाहीले दाबी गरे । उनले भने–‘चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमले स्थानीय विषयको ज्ञान र सीपमा वृद्धि हुने अपेक्षा लिएका छौँ । बालबालिकाले यहाँका चालचलन, रहनसहन र इतिहास, पर्यटन, व्यापारलगायत विषयबारे जानकारी पाउनाका साथै सीप विकासमा टेवा पु¥याउनेछ ।’

गत वर्ष पाठ्यक्रम तयार गर्नका लागि कार्यदल निर्माण गरिएको थियो । कार्यदलले ‘हाम्रो नेपालगञ्ज’ स्थानीय पाठ्यक्रम तयार गरेको हो । हाल तयार भएको पाठ्यक्रम छपाइ गरिसकिएकाले चालु शैक्षिक सत्रमा लागू गर्ने बताउँदै शाहीले केही दिनभित्र यहाँका सबै विद्यालयमा वितरण गरिने जानकारी दिए ।

पाठ्यक्रम पढाउन विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अधिकृत शाहीका अनुसार उपमहानगर अन्तर्गत रहेका ४३ सामुदायिक विद्यालय, ३९ धार्मिक विद्यालय र ८२ वटा निजी विद्यालयमा उक्त पाठ्यक्रम लागू गरिनेछ ।

उपमहानगरको आफ्नै पाठ्यक्रम नहुँदा विद्यार्थीले यसअघि बिना पुस्तक पढ्न बाध्य थिए । चालु आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरूको हातहातमा पु¥याउने नीति उपमहानगरले लिएको छ । पाठ्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण गरिएको पाठ्यक्रम निर्माण कार्यदलका सदस्य वीरेन्द्र यादवले बताए । उनका अनुसार उपमहानगरले नेपालगञ्जको सामाजिक, आर्थिक एवम् ऐतिहासिक पक्षका जानकारी दिने विषयलाई पाठ्यक्रममा समावेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार छलेर भण्डारण गरेको लत्ता कपडा बरामद

१७ असार २०८१, आईतवार १९:२९
नेपालगञ्ज : बाँके प्रहरीले भन्सार छलेर नेपालगञ्जमा भण्डारण गरेको अवस्थामा करिव साढे ३८ लाख बराबरको कुर्तासुरवाल र साडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले नेपालगञ्ज–२ न्युरोड भानुभक्तचोक नजिकै सोनी गुप्ताले आफ्नै घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याइ भण्डारण गरी राखेको साडी र कर्ता […]

सम्बन्धित