नेपालगञ्ज : नेपालगञ्जस्गित मंगलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्युनदृष्टियुक्त बालबालिका अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्युनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले लिएको छ ।
संघले ती विद्यार्थीलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने तथा उनीहरुको अधिार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सोही विद्यालयका दृष्टिबिहीन शिक्षक भोला त्रिपाठीले संघले विभिन्न निकायसँगको सहकार्यमा दृष्टिविहीन र न्युनदृष्टियुक्तको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आएको बताए ।
विद्यालयमा दृष्टिविहीन र न्युनदृष्टियुक्तको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाजोपाँजो नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाले मिलाएको छ । शिक्षा शाखाले विद्यार्थीका लागि मासिक ४ हजार रकम उपलब्ध गराउँदै आएको छ ।
दृष्टिविहीन र न्युनदृष्टियुक्त विद्यार्थीका लागि निःशुल्क शिक्षादिक्षा, सीपमुलक तालिम एवं रोजगारीमा आरक्षणको व्यवस्थाले पनि उनीहरुको जीवन सहज ढङबाट अगाडी बढाउन अवसर मिलेको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
मंगल माविमा दृष्टिविहीन र न्युनदृष्टियुक्तका लागि अलग अध्यापन गराईंदैन, आँखा देख्नेहरुसँग राखेर पढाउने गरिएको छ । यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै औं भन्ने भावनाको विकास गराउनु रहेको शिक्षक त्रिपाठीले बताए । संघको तथ्याकं अनुसार बाँकेमा झण्डै पाँच हजार अपाङता भएकामध्ये दृष्टिविहीन र न्युनदृष्टियुक्तको संख्या झण्डै दुई सय रहेको छ ।
शिक्षक त्रिपाठीका अनुसार यो सुखद प्रयास भएपनि यो पर्याप्त नभएकोले यसका लागि राज्य जिम्मेवार हुनुपर्ने आवश्यक छ ।