नेपालगञ्ज : नेपालगञ्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तीव्रता दिएपछि नेपालगञ्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने भएको हो ।
नेपालगञ्जका विभिन्न पाँच स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये बुधवार साँझ गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ । परीक्षण सफल भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।
ट्राफिक लाइट जडानका लागि ठेकेदारले ट्राफिक लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछाउने प्रयोजनले खनेका नेपालगञ्जका सडकका खाल्डाखुल्डी पुर्ने, त्यसमाथि पिचिङ गर्ने, फिनिसिङ गर्नेलगायतका कार्य सबै सम्पन्न गरेर पोलमा लाइट जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
प्रमुख विष्टले ठेकेदारले सडक विभागसँग ठेक्का सम्झौता गरी ट्राफिक लाइट जडान कार्यलाई तत्काल केही ढिलासुस्ती गरेको भए पनि अब भने छिट्टै जडान कार्य सकेर सञ्चालनमा ल्याउन लागेको बताए । उनका अनुसार रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडकखण्डमा पर्ने नेपालगञ्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंका इन्जिनियर पदम थापाले नेपालगञ्जमा ट्राफिक लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको बताए । सडकमा भूमिगत तार तथा पाइप बिछ्याउने काम तथा पोल गाड्ने काम सकाएर पोलमा लाइट तथा कन्ट्रोलर जडानको काम पनि सकिएको ई. थापाले जानकारी दिए ।
ट्राफिक लाइट जडान गरिएका राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोकमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको र बुधबारबाट गणेशमान चोकमा परीक्षण पनि गरी सफल भएको उनले बताए ।
‘‘सबै स्थानहरुमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको छ, गणेशमान चोकमा बुधबारबाट परीक्षण गरी लाइट बाल्ने काम सफल पनि भएको छ ।,’’ ई. थापाले भने, ‘‘अब केही स्थानमा फिनिसिङ गर्नुपर्ने काम सकाएर हप्ता दिनभित्र नेपालगन्जमा ट्राफिक लाइट बाल्छौं ।’’
थापाका अनुसार अबको एक हप्ता भित्रमै नेपालगञ्जमा ट्राफिक लाइट बल्नेछ । लाइट जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवकहरु बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिन्हहरु, नियमहरु, सङ्केतहरुका बारेमा सचेतना समेत प्रदान गरिने उनले बताए ।
थापाका अनुसार लाइट सञ्चालनमा आएको दुई वर्षसम्म मर्मत सम्भार तथा हेरचाहको जिम्मेवारी कम्पनीसँगै हुनेछ भने दुई वर्षसम्मको विद्युत महसुल सडक विभाग आफैंले भुक्तान गर्नेछ । भविष्यमा क्यामेरासमेत जडान गर्न मिल्ने गरी व्यवस्थित र वैज्ञानिक ढङ्गबाट ट्राफिक लाइट जोड्ने काम भएको उनले बताए ।
सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौंसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंले २०८० माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ पुस महिनामा एक करोड ५९ लाख रुपियाँ (भ्याटसमेत)मा ठेक्का सम्झौता गरेको थियो ।
नेपालगञ्जमा ट्राफिक लाइट जडान कार्यका लागि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट तथा उपप्रमुख कमरुद्दीन राईको उपस्थितिमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ २९ गते शिलान्यास गरेका थिए ।