राप्तीनदी आसपासका क्षेत्रको फोहोर व्यवस्थापन गरिँदै

सदरलाइन संवाददाता १३ माघ २०८०, शनिबार १७:५७
 

नेपालगञ्ज : बाँकेको राप्ती नदी आसपासको फोहोर व्यवस्थापनलाई युवाहरुले प्रभावकारी बनाउँदै लगेका छन् । राप्ती सरसफाइ अभियानको आज छैठौ शनिवार क्लीन नेपालगञ्ज ग्रीन नेपालगञ्जका युवाहरुको नेतृत्वमा जनप्रतिनिधि तथा स्कुले विद्यार्थीहले राप्ती नदी आसपासको क्षेत्रमा सरसफाई गरेका छन् ।

राप्ती नदीमा फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेको प्रमुख अभियान्ता विमल प्रधानले जानकारी दिए । वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका छन् ।

“हाम्रो अभियान भनेको नेपालगञ्जलाई स्वच्छ र स्वस्थ राख्ने हो । पर्यटकीय हिसाबले राप्ती नदी पनि नेपालगञ्जको एक महत्वपूर्णस्थल भएकाले हामीले नदी वरपरको फोहरलाई व्यवस्थापन गरी सफा राख्ने प्रयास गरेका हौँ”, अर्का अभियान्ता महेश श्रेष्ठले भने । नदी वरपर फ्याँकिएको फोहर उठाएर नदीलाई सफा बनाउन फागुनको पहिलो हप्तासम्म सरसफाइलाई निरन्तरता दिइने श्रेष्ठले बताए ।


“यहाँ दसैँदेखिको फोहर उठाइएको छैन । यहाँ देखिएजति सबै फोहर उठाउनुपर्नेछ । माघ पूरै जान्छ । फागुनको पहिलो हप्तासम्म संकलन भएको फोहर व्यवस्थापन गरी सक्छौँ ।” अभियानअन्तर्गत नदी सरसफाइ पनि एउटा मुख्य काम भएको अभियन्ता उनले बताए ।

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने उक्त नदीमा विशेष गरी पूजाआजा र दाहसंस्कारका लागि मानिस जाने गर्दछन् । नदीको बीच भागबाट वारिपट्टि डुडुवा ४ र ५ मा पर्ने उक्त नदी छेउमा तीर्थ, व्रत गर्नेको भीड लाग्ने गर्दछ । गर्मीको समयमा आन्तरिक पर्यटक नदीमा पौडी खेल्न जाने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका सबै वडामा खटाइए काँग्रेस प्रतिनिधि

१३ माघ २०८०, शनिबार १७:५७
नेपालगञ्ज : नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेमा ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटिने भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको आज बसेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो । जिल्ला सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँके प्रतिनिधि केन्द्रीय सदस्य […]