नेपालगञ्ज : नेपालगञ्जबाट काठमाण्डौसम्मको आरामदायी यात्राको लागि सुनौलो पञ्चदेवल यातायात प्रालिले आत्याधुनिक सुविधा सम्पन्न सोफासेटको सिटजडान सेमि स्लिपर यात्रुबाहक बालेनसिटी रात्रीबस सञ्चालनमा ल्याएको छ ।
बस सेवाको औपचारिक रुपमा लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमूनाले रिवन काटेर सुरुवात गरेकी हुन । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राको लागि आधुनिक सोफा सिटमा स्लिपर जोडिएको ३७ सिटको बसमा यात्रा गर्ने यात्रुको सु्रक्षाको लागि सिसिटिभी क्यामेरा, एसि, हिटर, मोबाईल चार्ज गर्ने प्वाईन्ट, एयरसस्पन्सरको सुविधा भएको बालेनसिटी बसको टिकट नेपालगञ्ज बसपार्क, राँझा काउन्टर, कोहलपुर बसपार्कमा पाईने र काठमाण्डौको गोगम्बु बसपार्कमा टिकट पाईने व्यवस्था मिलाईएको प्रालिका अध्यक्ष तथा सञ्चालक बसन्त मल्लले जानकारी दिए ।
उनले नेपालगञ्जदेखि काठमाण्डौसम्मको लामो यात्रलाई सहज र सुविधायुक्त बनाउने उदेश्यले सुबिधासम्पन्न बस सेवा सञ्चालनमा ल्याईएको बताए । सो प्रालिले हाल ३ वटा बसबाट सेवा सुरु गरेको छ ।
यसैबीच पहिलो पटक सञ्चालनमा आएको बालेनसिटी बसका यात्रुलाई खादा मालाले लुम्बिनी प्रदेश शहरी विकास मन्त्री नमूनाले विदाई गरेकी थिईन । उनले यात्रु मैत्री सेवा प्रवाह गर्न प्रालिका सञ्चालकलाई आग्रह समेत गरिन । सो अवसरमा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी, विभिन्न यातायात समितिका सञ्चालक, बसका यात्रुहरुको उपस्थिति रहेको थियो ।