नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । यसअघि सिकलसेल रोगको जोखिममा रहेको पाइएको सो नगरपालिका भित्र धेरै जनामा हात्ती पाइले रोगका जीवाणु भेटिएपछि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको हो ।
कोहलपुरको एउटा वडामा मात्र गरिएको ¥यापिट डाइगोनिष्टक टेस्टबाट ४८ जनामा हात्तीपाइले रोगका जीवाणु फेला परेकोले नगरपालिका नै सो रोगको उच्च जोखिममा रहेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।
उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेनामा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ । तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ ।
राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा आरडिटी जाँच गरिएको थियो । आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको जनस्वास्थ्य निरीक्षक पाण्डेले बताए ।
आरडिटी जाँचमा शरीरभित्र मरेका जीवाणु भए पनि पोजेटिभ देखिने भएकाले यकिन गर्न रात्रिकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना सङ्कलनको गरिएको उनको भनाइ छ ।