मालपोत र नापी कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई सहज

सदरलाइन संवाददाता ९ मंसिर २०८०, शनिबार १३:४६
 

नेपालगञ्ज : गत कात्तिक १ गतेबाट मालपोत र नापी कार्यालयले कोहलपुरबाट तीनवटा पालिकामा सेवा प्रवाह शुरु भएपछि सो क्षेत्रका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।

बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारीका २७ वडाका नागरिकको जग्गासम्बन्धी काम कोहलपुरबाट हुन थालेपछि नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको र सेवा लिन सहज भएको सेवाग्राहीको भनाइ छ ।

मालपोत कार्यालयमा सेवा लिन आउनुभएका बैजनाथ गाउँपालिका –७ का जीवन थारूले सानो कामले पनि नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य भएपछि आफूहरुलाई निकै सहज भएको बताए ।

उनले कोहलपुरबाटै सेवा पाएपछि पैसा, समयको बचतसंगै अनावश्यक झन्झटबाट पनि मुक्ति पाएको बताए । सोही प्रकारले राप्तीसोनारी –४ का रमेश थापाले पनि कोहलपुरबाट सेवा सुचारु भएपछि अब कम समयमै धेरै काम र काम पनि छिटोछरितो तरिकाले भइरहेको बताए ।

उनले यसअघि सानो कामका लागि पनि नेपालगञ्ज जानुपर्दा दिनभरि लाग्ने र गाडी भाडा पनि धेरै खर्च गर्नुपरेको बताए ।


कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिकका जग्गासम्बन्धी सबै काम कोहलपुरबाटै भइरहेकाले सेवाग्राही र कर्मचारी दुबैलाई सहज भएको नापी कार्यालय कोहलपुरका अधिकृत दिनेशकुमार भण्डारीले बताए ।

उनले अहिले कार्यालय स्थापना भएको केही समय मात्र भएको र जनशक्तिको अभावले गर्दा सेवा प्रवाह भनेजस्तो दिन नसके पनि सेवाग्राहीलाई धेरै सहज भएको बताए ।

कार्यालय सार्दा नेपालगञ्जबाट केही डाटा छुटेकाले बेला–बेला समस्या आउनेगरेको प्रमुख भण्डारीले बताउनुभयो । कतिपय नागरिकले थाहा नपाएका कारण नेपालगन्जसम्म पुगेर दुःख पाउने गरेको गुनासो आएको पनि भण्डारीको भनाइ छ ।

उनले थपे, ‘अब कोहलपुरबाटै नियमित सेवा प्रवाह हुनेछ, कार्यालय व्यवस्थापनको काम पनि सँगसँगै भइरहेकाले कहिलेकाहीँ ढिला हुने भएकाले सेवाग्राहीलाई धैर्य गरिदिन आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२३ गतेदेखि रातो नम्बर प्लेटका इ–रिक्सा यात्रु बोक्न नपाउने

९ मंसिर २०८०, शनिबार १३:४६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ–रिक्सा मंसिर २३ गतेदेखि गुड्न नपाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाहरुको बैठकले रातो नम्बर प्लेटलाई कालो बनाउन मंसिर २२ गतेसम्मको समय दिने निर्णय गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्साहरु रातो […]