नेपालगञ्जमा ‘स्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला’

सदरलाइन संवाददाता २४ माघ २०७९, मंगलवार १५:२९
 

नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार स्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला सम्पन्न भएको छ । प्राकृतिक विपतको जोखिममा रहेका बस्तीहरुमा भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत गरिएको नक्सांकनको पृष्ठपोषण लिने गरी आयोजित कार्यशालामा सरोकारवाला निकाय, संघसंस्था एवम् स्थानीयहरुको सहभागिता थियो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत कार्यशाला गरिएको हो । यो परियोजना वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।

कार्यशालामा नक्सांकनको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै तयार पारिएका नक्साका सम्बन्धमा उपस्थित सरोकारवालाहरुको पृष्ठपोषण लिइएको छ । विपतका बेला कम भन्दा कम क्षतीका लागि पूर्व तयारी स्वरुप सुपर प्रोजेक्टले जोखिम क्षेत्रको जिपिएसमार्फत नक्सांकन गरेको हो ।


कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपतबाट हुने क्षती न्यूनीकरणका लागि स्रोत नक्सांकन अति जरुरी रहेको भन्दै यसले विपतसंग जुध्न सहज हुने उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोबद्र्धनसिंह सम्झनाले विपतसंग जुध्न आपसी सहकार्य र हातेमालो आवश्यक रहेको भन्दै पूर्व तयारीका लागि जोखिमयुक्त बस्तीहरुको सुक्ष्म तरिकाले अध्ययन गरेर नक्सांकन भएको बताए । त्यसक्रममा उपस्थित सबैले तयार पारिएका नक्साहरुको अवलोकन गरेका थिए ।

कार्यशालाबाट प्राप्त पृष्ठपोषणलाई समेटेर नक्सांकनलाई अन्तिम रुप दिएपछि नेपालगञ्ज उपमहानगरपालिका र सरोकारवाला निकाय र संघसंस्थालाई हस्तान्तरण गरिने आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो.अयुव सिद्दिकी, ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ लगायत सरोकारवाला, स्थानीय उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा भलिबल आयोजना हुँदै

२४ माघ २०७९, मंगलवार १५:२९
नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र) ले ५० हजार पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता गर्ने भएको छ । २७ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ र २ गते बाँके जिल्लामा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने सो पार्टीका नेपालगञ्ज अध्यक्ष रतन शाहीले बताए । अध्यक्ष शाहीका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुनेलाई […]